काठमाडौं– नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन्। । यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वराष्ट्रपति डा रामवरण यादव, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधव नेपाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए।
यसैगरी समारोहमा उपप्रधानमन्त्री, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।


