काठमाडौँ: पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा मुछिएको विद्युतीय चुरोट (भेप) मार्फत् सुन तस्करी प्रकरणको भ्रष्टाचार मुद्दा अदालत पुगेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली अभियोगपत्रसहित विशेष अदालत पुगेको हो।े
महरासहितलाई प्रतिवादी बनाइएको मुद्दा अदालत आएको र दर्ता हुने क्रममा रहेको अदालत स्रोतले जनाएको छ।
२०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र विद्युतीय चुरोट (भेप)मा सुन तस्करी गरेको प्रकरणमा संलग्नता रहेको आरोपमा महरा गत असोजमा पक्राउ परेका थिए। उनीविरुद्ध भन्सार छली र संगठित अपराधमा अनुसन्धान भएको थियो।
भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख महरा संलग्न रहेको सीआईबीको आरोप छ। सुन छुटाउन महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई दबाब दिएको आरोप पनि लाग्दै आएको छ।
संगठित सुन तस्करी मुद्दामा बुधबारको थुनछेकपछि जिल्ला अदालत काठमाडौँले असोज २९ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरे पनि उच्च अदालत पाटनले मंसिर ११ गते २० लाख धरौटीमा थुनामुक्त गर्ने आदेश गरेको थियो।
सोही मुद्दामा पक्राउ परी २०८० चैतमा कागज गरेर उनी थुनाबाहिरबाट पुर्पक्षमा थिए।


