काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को निर्धारित साधारणसभा रोकिने भएको छ। महासंघले यही चैत २९–३० गते साधारणसभाको मिति निर्धारण गरेकोमा उच्च अदालत पाटनले निर्वाचनसहितको वार्षिक साधारणसभा रोक्न अन्तरिम आदेश जारी गरेको हो।
महासंघको वस्तुगततर्फको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले एफएनसीसीआईमा अवैधानिक रूपमा सदस्य थपिएको भन्दै रिट दायर गरेको थियो। महासंघले गत २०८१ चैत २८ मा सम्पन्न एफएनसीसीआईको ५९औँ वार्षिक साधारण सभामा सदस्यको हैसियतले उपस्थित भएकामा अहिले समावेश नगरेर तथा सदस्यता सम्बन्धी निर्णयसमेत नगरी साधारणसभा गर्न लागेको भन्दै रिट दायर गरेको थियो।
उक्त रिटमा न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको इजलासले अन्तरिम आदेश जारी गर्दै साधारणसभा रोक्न आदेश जारी गरेको हो।
आदेशमा भनिएको छ, ‘२०८१/११/१६ मा जारी भएको परमादेश बमोजिम निर्णय नगरी विपक्षी संस्थाको साधारण सभा हुँदा यी निवेदकहरु समेतलाई असर पर्ने देखिँदा सो निर्णय नभएसम्म संस्थाको साधारण सभा नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ।’
साधारणसभाको मिति घोषणा भएपछि नयाँ नेतृत्वका लागि व्यवसायीहरूले चुनावी तयारी गरिरहेका छन्।



