काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारमा लगानी बढाइरहेका छन्। आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले राजधानीको चन्द्रागिरी, लुम्बिनी र मौलाकालीमा केबलकार सञ्चालन गरिरहेका छन्।
यस्तै पाथीभरालगायत मुलुकका केही स्थानमा केबलकार सञ्चालनको योजना उनको छ। केही वर्षअघि ढकालले छ वटै प्रदेशमा कम्तिमा एउटा केबलकार सञ्चालन गर्ने योजना सार्वजनिक गरेका थिए।
यस्तै सुदुरपश्चिमको कैलालीको कर्णाली चिसापानीमा जल्पादेवी केबलकारको निर्माण भइरहेको छ। उक्त केबलकारको हालसम्म ४६ प्रतिशत वित्तीय प्रगति भएको छ।
गत वर्ष तत्कालिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लम्कीचुहा नगरपालिका ३ स्थित कर्णाली चिसापानीमा केबलकारको शिलान्यास गरेकी थिइन्।
पाँचतारे स्तरको रिसोर्टसहित केबलकार पूर्वाधार बनाउन चार अर्ब चार करोड रुपैयाँ लागत अनुमान गरिएको छ। जसमा ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ।
जालपादेवी केबलकार शिलान्यास गर्दै परराष्ट्रमन्त्रीले भनिन्- पर्यटकीय पूर्वाधारले समृद्धि ल्याउँछ
कूल स्वपुँजीको ५४ प्रतिशत खर्च भइसकेको छ। कूल लगानीको दुई अर्ब ७५ करोड केबलकार र बाँकी एक अर्ब २८ करोड रुपैयाँ होटल पूर्वाधारमा लगानी हुने भएको छ।
आईएमई समूहअन्तर्गत जालपादेवी केबलकार प्रालिले निर्माण गर्ने यो केवलकारको लम्बाई ३.१ किलोमिटर हुनेछ। केवलकार लम्कीचुहा नगरपालिका ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्नेछ। केबलकारमा ३४ वटा गोन्डोला हुनेछन्।
केबलकारको बटम स्टेसनमा होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् टप स्टेसनमा १०० कोठा भएको रिसोर्ट, जल्पादेवी मन्दिर, स्काई वाक, वकिङ ट्रेल, रेस्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहितका पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधार निर्माण हुनेछ।
पहाडको टुप्पोमा अवस्थित जल्पादेवी मन्दिरलाई नेपालको प्रमुख तीर्थस्थलहरू मध्ये एक मानिन्छ। यसैले नेपाल र भारतका हिन्दु दर्शनार्थीहरुका लागि धार्मिक महत्व राख्छ। पहाडको टुप्पोसँगै, पहाड र सूर्योदय दृश्यहरूको मनोरम दृश्यहरू प्रदान गर्ने यो मन्दिरले तीर्थयात्रीहरू र अन्य पर्यटकहरूलाई आकर्षित गर्न मद्दत गर्न सक्छ।
केबलकार परियोजना चिसापानीमा रहेको कर्णाली पुलको नजिक (केबलकार बेस स्टेशन)बाट दुई किलोमिटर दुरीमा रहेको छ।
जल्पादेवी केबलकार सन् २०१८ मा स्थापना भएको हो। पहिलो परियोजनाअन्तर्गत केबलकार खण्ड पूरा हुने क्रममा छ। पाँचतारे होटल निर्माण अझै सुरु भएको छैन। जल्पाददेवी केबलकारको संस्थापकमा चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल हुन्।
