रामेछाप। रामेछापको सदरमुकाम स्थित तामाकोसी नदीमा अब जेटबोटसँगै अब र्याफ्टिङ पनि सञ्चालन हुने भएको छ।
आन्तरिक तथा बाह्य पर्यटकलाई जलयात्राको मनोरञ्जन दिन तामाकोसी मरिण एड्भाञ्चार प्रालिले सो परीक्षणका रूपमा सो सेवा सुरु गरेको हो।
एक वर्ष अघि परीक्षणको रूपमा तामाकोसी जेटबोट सञ्चालन गरेको प्रालिले नयाँ वर्ष २०८३ बाट र्याफ्टिङ पनि परीक्षणको रूपमा सुरु गरेको कम्पनीका सञ्चालक सागरहरि अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार अहिले जेटबोट मन्थलीको करमबाटदेखि मन्थली घाटको पुलसम्म सञ्चालन भइरहेको छ। यसलाई विस्तार गरी करमबोटदेखि खुर्कोटसम्म जेटबोट सञ्चालन गर्ने योजना कम्पनीले बनाएको छ।
त्यसको लागि नदीका केही जोखिमपूर्ण ठाउँलाई मिलाउनु पर्ने उनले बताए। यस विषयमा स्थानी तह र पानीजहाज कार्यालयसँग पनि समन्वय र सहकार्य भइरहेको उनले जनाकारी दिए।
जेटबोटको लागि हाल छोटो, मध्यम र लामो दुरी गरी ३ वटा प्याकेज बनाइएको छ। तीनवटा प्याकेजेको लागि फरक फरक भाडा निर्धारण गरिएको उनले बताए। जसमा ३५०, ५०० र १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको उनले बताए।
त्यसैगरी र्याफ्टिङको लागि लङरुट र सर्टरुट निर्धारण गरिएको छ। लामो दुरीको यात्रा आधा दिनको हुने छ। सो यात्रा देवीटारदेखि सुरु हुने छ भने २ हजार ५ सय रुपैँया शुल्क लाग्ने छ। छोटो यात्रा हलेदेखि मन्थलीसम्मको हुने छ। जसको शुल्क १ हजार ५ सय रुपैयाँ लाग्ने छ।
मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सो कम्पनीले अहिले परीक्षणको रूपमा जेटबोट र र्याफ्टिङ सञ्चालनमा ल्याएको बताउँदै सो परीक्षण सफल भएमा त्यसलाई थप व्यवस्थित बनाएर सञ्चालनको व्यवस्था मिलाउने जानकारी दिए।
