काठमाडौँ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालय र त्यस अन्तर्गतका विभाग एवं कार्यालयहरूमा प्रयोग भइरहेका तथा मर्मतमा रहेका सवारी साधनहरूको विस्तृत विवरण माग गरेको छ।
कार्यालयले २०८३ वैशाख २ गते एक परिपत्र जारी गर्दै भोलिपल्ट अर्थात् वैशाख ३ गते कार्यालय समयभित्रै सबै विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। प्रधानमन्त्री कार्यालयको प्रशासन शाखाका अनुसार सचिवस्तरको निर्णय बमोजिम दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै प्रकारका सवारी साधनको विवरण माग गरिएको हो।
मन्त्रालयहरूले उपलब्ध गराउने विवरणमा सवारी साधनको ब्रान्ड र मोडल, सवारी नम्बर, गियर सिस्टम (अटोमेटिक वा म्यानुअल), इन्धनको प्रकार (डिजेल, पेट्रोल वा विद्युतीय) खुलाउनुपर्नेछ। यसैगरी, उक्त सवारी साधन कसले प्रयोग गरिरहेको छ (प्रयोगकर्ताको नाम र पद) र सवारी साधनको वर्तमान अवस्था कस्तो छ भन्ने कुरा पनि अनिवार्य रूपमा उल्लेख गर्न भनिएको छ।



