नेपालको निजी उड्डयन कम्पनी श्री एयरलाइन्सले पहिलोपटक नियमित अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीको एयर अपरेटर सर्टिफिकेट परिमार्जन गर्दै भारतका दिल्ली र कोलकाता तथा बंगलादेशको ढाकामा नियमित उडान सञ्चालन गर्न बाटो खुला गरेको हो।
अब कम्पनीले तय गरिएको तालिकाअनुसार यात्रु सेवा सञ्चालन गर्न पाउनेछ।
हालसम्म आन्तरिक सेवा र विदेशतर्फ चार्टर उडानमा सीमित रहेको श्री एयरलाइन्सले नयाँ अनुमतिसँगै व्यावसायिक अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्नेछ। प्राधिकरणको निर्णयअनुसार कम्पनीका चार जहाज (दुईवटा सीआरजे र दुईवटा डीएचसी–८)लाई यी गन्तव्यमा उडानका लागि स्वीकृति दिइएको छ।
यस निर्णयपछि काठमाडौं–दिल्ली, काठमाडौं–कोलकाता र काठमाडौं–ढाका रुटमा नियमित उडान सञ्चालन हुनेछन्।


