काठमाडौं– संखुवासभाको हेवा खोलामा शनिबार राती आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय संखुुवासभाले जनाएको हो।
चैनपुर नगरपालिका–४ पेंकोट र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो जनधनको क्षति भएको हो।
बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्ण रुपले क्षति पुगेको वाना प्रहरी चौकी प्रमुख टीकाराम राईले जानकारी दिए। उक्त परियोजनामा काम गर्ने १७ मजदुर सम्पर्कविहीन रहेको उनले बताए। खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको उनको भनाइ छ।
बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
ताप्लेजुङको सिदिङ्वामा बाढीले बगायो तीन घर
अविरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आंखोपमा तीन घर बगाएको छ। गए राती इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन्। वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन।
बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ। खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ।
यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ। बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताए। उनका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन्। बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन। मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन्।
बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्ण रूपमा अवरुद्ध बनेको बताइएको छ। मैवाखोला–२ र ५ नम्बर वडा जोड्ने खार्तेखोलाको झोलुंगे पुल बगाएको स्थानीयले बताए। रातभर अत्यधिक वर्षासँगै ठाउँ–ठाउँमा बाढीपहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ।
जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो। बिहीबार राती मात्रै सिरिजंघा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो। यहाँका पाँच वटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन्।
यसैबीच मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएपछि मेची राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।
पाँचथरमा बाढीले बगाउँदा ६ बेपत्ता
अविरल वर्षासँगै गए राती आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवासहित ६ जना बेपत्ता भएको हुन्।
बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझी टारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।
बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल बगाएको छ। यस्तै, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुई वटा मोटरेवल र एउटा झोलुंगे पुल बगाएको प्रहरीले जनाएको छ। यस्तै, याङबरक गाउँपालिका ३ र २ मा पनि घर बगाएको छ तर क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।



