काठमाडौं। मारुती सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८१/०८२ मा ५ अर्ब ९० करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो आम्दानी र नाफामा ठूलो फड्को मारेको हो।
रेटिङ एजेन्सी इक्रा नेपालले सावर्जनिक गरेको वित्तीय वित्तीय विवरण अनुसार, आर्थिक वर्ष २०८०/०८१ मा ४ अर्ब ७० करोड ७० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी एक वर्षको अवधिमा झण्डै १ अर्ब २० करोड रुपैयाँले बढेको छ।
आम्दानीसँगै कम्पनीको सञ्चालन नाफाको दरमा पनि लोभलाग्दो सुधार देखिएको छ। आर्थिक वर्ष २०८० मा ७ प्रतिशत र २०८१ मा ९ प्रतिशत रहेको यो दर २०८२ मा बढेर १९ प्रतिशत पुगेको छ।
त्यस्तै, चालु आर्थिक वर्ष २०२८/०८३ को पहिलो ६ महिनाको प्रारम्भिक तथ्यांकले यो दर ३० प्रतिशत पुग्ने संकेत गरेको छ, जसले कम्पनीको व्यावसायिक दक्षता बढ्दै गएको देखाउँछ।
सिराहाको गोलबजारमा उद्योग रहेको मारुती सिमेन्टले हालै आफ्नो उत्पादन क्षमतामा ठूलो वृद्धि गरेको छ।
सन् २०२५ जुनमा सम्पन्न पछिल्लो क्षमता विस्तारपछि कम्पनीले अहिले प्रतिदिन ३३ सय टन क्लिंकर र चार टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ। सन् २००८ मा ५०० टन सिमेन्ट उत्पादनबाट सुरु भएको यो उद्योग अहिले नेपालकै ठूला सिमेन्ट उद्योगमध्ये एक बनेको छ।
कम्पनीको वित्तीय अवस्था बलियो बन्दै जाँदा ऋण भुक्तानी गर्ने क्षमतामा पनि उल्लेख्य सुधार आएको छ। सन् २०२४ मा ४.८४ गुणा रहेको यस्तो क्षमता सन् २०२५ मा बढेर ९.२२ गुणा पुगेको छ। यसले कम्पनीले आफ्नो ऋणको ब्याज सजिलै तिर्न सक्ने मजबुत स्थितिमा रहेको पुष्टि गर्छ।
सन् १९९४ मा स्थापना भएको मारुती सिमेन्ट राठी र गोयल समूहद्वारा प्रवद्र्धित उद्योग हो। उद्योगले मारुती ब्रान्ड नाममा ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। आफ्नै खानीको चुनढुङ्गा र उच्च प्रविधिको प्रयोगका कारण मारुती सिमेन्ट नेपाली निर्माण बजारमा लोकप्रिय मानिन्छ।
ऋण व्यवस्थापन र आईपीओको योजना
हाल कम्पनीको ऋण र पुँजीको अनुपात ०.६४ गुणा मात्र छ, जुन वित्तीय रूपमा स्वस्थ मानिन्छ। क्षमता विस्तारका लागि थप ऋण लिए पनि कम्पनीले साधारण शेयर निष्कासन गरी संकलित रकमबाट ऋण भुक्तानी गर्ने योजना बनाएको छ। आईपीओपछि कम्पनीको वित्तीय भार अझै कम हुने देखिन्छ।
व्यावसायिक प्रगतिसँगै कम्पनीले केही चुनौतीको पनि सामना गरिरहेको छ। मारुतीको ५७ करोड ५० लाख रुपैयाँ बराबरको पुरानो विद्युत् महसुल विवाद कायमै छ। यो रकम भुक्तानी गर्नुपर्ने अवस्था आएमा कम्पनीको नाफामा असर पर्न सक्ने देखिएको इक्रा नेपालको प्रतिबेदनले उल्लेख गरेको छ।
