काठमाडौँ: अध्यागमन विभागले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसहित पंकजबिक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट (राहदानी) कालोसूचीमा राखेको छ। राष्ट्रिय खेलकुद परिषदले एन्फामा भ्रष्टाचार भएको आरोपका विषयमा छानविन गर्न कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानविन उपसमिति गठन गरेको थियो।
उक्त समितिले विदेश जान रोक लगाउनेगरी शुक्रबार खेलकुद मन्त्रालयमा पासपोर्ट कालोसूचीमा राख्न पत्राचार गरेको थियो। खेलकुदबाट गृह हुँदै अध्यागमन विभागमा पत्र पुगेपछि उक्त पत्रका आधारमा नेम्बाङसहित २४ जनाको पासपोर्ट विभागले कालोसूचीमा राखेको अध्यागमन स्रोतले जनाएको छ।
एन्फामा आर्थिक अनिमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरू परेका छन्।
पछिल्लो समय परिषद् र एन्फाबीच विवाद छ। आफ्नो निर्देशनविपरीत निर्वाचन गर्न लागेको भन्दै एन्फालाई तीन महिनाका लागि निलम्बन गरिएको छ।
यसै बिहीबार क्यानडाको भ्यानकुवरमा हुने ७६औं फिफा कंग्रेसमा सहभागी हुन एन्फाका पदाधिकारी जाने तयारी रहेकोमा कालोसूचीमा परेसँगै एन्फा पदाधिकारीहरूको भ्रमण अनिश्चित बनेको छ।


