काठमाडौँ: लेखक खेम शर्माका २४ वटा पुस्तक एकै पटक प्रकाशित भएका छन्। राष्ट्र निर्माणसँग सम्बन्धित विभिन्न विषयमा केन्द्रित २४ वटा पुस्तक डिजिटल स्वरूपमा एकैसाथ प्रकाशन गरिएको हो।
उक्त उपलब्धिका आधारमा उनलाई काठमाडौँमा आयोजित कार्यक्रममा विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान गरिएको छ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रमाणपत्र, ट्रफी र मेडल हस्तान्तरण गरेका थिए।
प्रकाशित पुस्तकहरू रक्षा, गृह, परराष्ट्र, अर्थ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी तथा सरसफाइ, कृषि, श्रम तथा रोजगार, यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संस्कृति, सञ्चार, स्वास्थ्य, सामाजिक विकास, संघीय मामिला, युवा तथा खेलकुद, सहरी विकास, वन तथा वातावरण, कानुन, ऊर्जा, उद्योग तथा पूर्वाधारलगायत विषयमा केन्द्रित छन्।
शर्माका अनुसार सबै पुस्तकहरू राष्ट्र निर्माणका विभिन्न पक्षलाई समेटेर लेखिएका हुन्। यी पुस्तकहरूको कुल शब्द संख्या ६ लाखभन्दा बढी रहेको बताइएको छ। कार्यक्रममा बोल्दै शर्माले मन्त्रालयगत संरचनाअनुसार आवश्यक नीतिगत र कार्यगत पक्ष समेट्ने प्रयास गरिएको जानकारी दिए।
शर्मा सरसफाइ अभियानसँग जोडिएका अभियन्ता हुन्। उनले यसअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल लगायतका स्थानमा सरसफाइ अभियान सञ्चालन गरेका थिए। साथै पशुपतिनाथ क्षेत्र आसपास पनि उनले सरसफाइ सम्बन्धी गतिविधि अघि बढाएका छन्।


