काठमाडौँ- गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान भएको छ। १० औं महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनए अन्ततः एउटै बन्ने सहमति भएको हो।
दुई पक्षबीच एकतासम्बन्धी चार बुँदे सहमति भएको छ। प्रधानमन्त्री प्रचण्डको पहलमा दुई समूहमा विभाजित एनआरएनए एक भएको हो। एनआरएनएको विवाद मिलाउन पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पनि भूमिका खेलेका थिए।
आइतबार दुवै समूहबीच भएको वार्तापछि प्रधानमन्त्री प्रचण्ड र शर्माको उपस्थितिमा दुई समूहले एकतासम्बन्धी सहमतिमा हस्ताक्षर गरेका हुन्। प्रचण्डले दुई समूह भएका कारण सरकारलाई समन्वय गर्न केही असहज भएको बताउँदै एकठाउँमा आएको खुशी लागेको बताए। प्रधानमन्त्रीले दुईटै विधानलाई परराष्ट्रबाट प्रमाणित गराई एउटै बनाउन सुझाव समेत दिए।
विभाजित एनआरएनएलाई एकताबद्ध बनाउन अध्यक्षद्वय डा बद्री केसी, विनोद कुँवरले लामो समयदेखि वार्ता र संवादलाई जारी राखेका थिए। जानकी गुरुङ र डिबी क्षेत्रीको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो। उपाध्यक्ष आरके शर्मालगायतको उपस्थिति रहेको थियो।
परराष्ट्र मन्त्रालयसँग यस्तै परराष्ट्र मन्त्रालय र सङ्घको विरुद्धमा अदालतमा हालेका मुद्दा फिर्ता लिने र गैर आवासीय नेपाली सङ्घसँग मेल खाने सोही प्रकृतिका अन्य गतिविधिहरू, संयन्त्र र संरचना खारेज गर्ने पनि सहमति भएको छ।
विभाजन भएको संस्था एकताबद्ध बनाउन ठूलो कार्य भएको र बाँकी कामको लागि परराष्ट्र मन्त्रालयमा छलफल हुने अध्यक्ष विनोद कुँवरले जानकारी दिए। विभाजित भएको एनआरएनएलाई एकताबद्ध बनाउनको लागि लागि पर्ने दुवै पक्षका पदाधिकारी, पार्षद, सञ्चारकर्मी तथा सरोकारवाला सबै पक्षप्रति आभार व्यक्त गरिएको छ।


