काठमाडौँ: चालू आर्थिक वर्ष २०८२/०८३ मा उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ५.७२ प्रतिशत योगदान रहने अनुमान गरिएको छ। यसको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.८३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखाको संशोधित तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा यस क्षेत्रको वृद्धिदर २.२७ प्रतिशत रहने अनुमान गरिएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकअनुसार उक्त वर्ष यस क्षेत्रको वृद्धिदर २.०२ प्रतिशत ऋणात्मक कायम भएको छ। यस क्षेत्रमा आर्थिक वर्ष २०८००८१ मा ऋणात्मक वृद्धिदर देखिए तापनि त्यस पछिका आर्थिक वर्षमा भने सुधारको संकेत देखिएको छ।
खासगरी सिमेन्ट, वनस्पति घिउ, कंक्रीट, भट्टमासको कच्चा तेल, फलामे रड, खोटो, सूर्तीजन्य पदार्थ, वायरिङ्ग तार, जुट, बियरलगायतका वस्तुको उत्पादनमा भएको वृद्धिले यस क्षेत्रमा सुधार आउने प्रारम्भिक अनुमान गरिएको छ।
यसका साथै, भट्टमासको कच्चा तेल, जस्तापाता तथा फलामे रडको कच्चा पदार्थ, कोइला लगायत कच्चा पदार्थको आयातमा भएको वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारणले पनि उद्योग क्षेत्रको उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पारेको कार्यालयले जनाएको छ।


