काठमाडौँ: सञ्चालनमा रहेका दुई होटलहरु एकआपसमा समाहित (मर्ज) भएका छन्। राजधानीमा रहेको अर्किड होल्डिङ लिमिटेड र पोखरामा रहेको माउन्टेन ग्लोरी लिमिटेड मर्जमा गएका हुन्।
दुवै होटल गाभिएपश्चात् माउन्टेन ग्लोरी लिमिटेडको नाम परिवर्तन भई अब अर्किड ग्लोरी लिमिटेडको नामबाट शुक्रबारदेखि एकीकृत कारोबार हुने भएको छ। अर्किड होल्डिङसको राजधानीको रविभवनमा चारतारे होटल क्राउन इम्पेरियल ब्राण्ड नामबाट सञ्चालनमा रहेको छ।
अर्किड होल्डिङसको फागुन १२ र माउन्ट ग्लोरी लिमिटेडको फागुन १३ मा सम्पन्न विशेष साधारण सभाले दुबै होटल एक आपसमा गाभ्ने मर्जर सम्बन्धी प्रस्ताव पारित भएपछि एकीकृत कारोबार हुन लागेको हो।
कम्पनी रजिष्ट्रारको कार्यालयले गत चैत १९ मा एक आपसमा गाभिन अन्तिम स्वीकृती दिएको थियो। दुवै होटलको सम्पूर्ण ऋण, धन, दायित्व र सबै सम्पत्ति अर्किड ग्लोरीले सकार्ने भएको छ।
अर्किडको होटल क्राउन इम्पेरियलले सन् २०२२ मा पब्लिक लिमिटेडमा परिणत भएको हो। होटल ९ हजार १३२ वर्गमिटरमा फैलिएको छ। होटलमा १३१ कोठाहरु छन्।
होटलले गत वर्ष २४ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो। यस्तै २०२४ मा १६ करोड १० लाख र २०२३ मा १२ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो। गत वर्षसम्म होटल नौ करोड ३० लाख रुपैयाँ नोक्सानमा छ। होटलले एक अर्ब ३९ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
अर्किड होल्डिङमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४३.१९ प्रतिशत सेयर रहेको छ। होटलमा फूड एन्ड बेभरेजका साथै स्विमिङ पुल, सम्मेलन हल र बैक्वेट हल, हेल्थक्लव, सपिङ आर्केडलगायत अन्य सुविधाहरू समावेश छन्। होटल क्राउन इम्पेरियल सन् २०१९ अगस्टदेखि सञ्चालनमा आएको हो।
पोखराको दोबिला माउन्टेन ग्लोरी सन् २००७ मा स्थापना भएको हो। होटलमा ६४ कोठाहरू छन्। होटल माउन्टेन ग्लोरी एन्ड फरेष्ट रिसोर्ट एन्ड स्पा ब्राण्डमा सञ्चालनमा छ। माउन्टेनल ग्लोरीले टुरिष्ट स्ट्यान्डर्ड होटलको मान्यता पाएको छ।


