काठमाडौँः औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत प्राप्त प्रस्तावमध्ये १ हजार ३ सय १ परियोजनालाई प्रारम्भिक छनोटमा राखेको छ।
प्रतिष्ठानले आइतबार सूचना जारी गर्दै उक्त सूची सार्वजनिक गरेको हो। छनोटमा परेका प्रस्तावकहरूलाई प्राप्त एसएमएसमा दिइएको लिंकमार्फत वेबसाइटमा गई तोकिएको ढाँचाअनुसार आफ्नो व्यावसायिक विवरण भर्न र २३ वैशाखभित्र ह्वाट्सएपमार्फत पठाउन आग्रह गरिएको छ।
तोकिएको समयसीमाभित्र विवरण पेश नगरेमा प्रस्ताव स्वतः रद्द हुने प्रतिष्ठानले स्पष्ट पारेको छ।
यसअघि २१ कात्तिकमा २१ दिने सूचना जारी गरी प्रस्ताव आह्वान गरिएकोमा १० हजार २ सयभन्दा बढी उद्यमीले आवेदन दिएका थिए।
सरकारले चालु आर्थिक वर्षका लागि ७३ करोड रुपैयाँ विनियोजन गरे पनि रकमान्तरणपछि स्टार्टअप कर्जा कार्यक्रमको बजेट १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।
प्रतिष्ठानले तेस्रो पटक यो कर्जा वितरण गर्न लागेको हो। अघिल्ला वर्षहरूमा स्थलगत निरीक्षण नहुँदा केही नक्कली प्रस्ताव फेला परेकाले यसपटक परियोजनाको भौतिक अनुगमनसमेत गरिएको छ।
कार्यक्रम अन्तर्गत योग्य उद्यमीलाई न्यूनतम ५ लाखदेखि अधिकतम २० लाख रुपैयाँसम्म कर्जा प्रदान गरिनेछ। कृषि, पर्यटन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा उत्पादनमूलक क्षेत्रका नवीन सोच र प्रविधिमा आधारित उद्यमलाई प्राथमिकतामा राखिएको प्रतिष्ठानले जनाएको छ।
प्रारम्भिक सूचीमा खाजा पसल, कम्प्युटर सेन्टर, कृषि उद्यम, साना उत्पादनमूलक उद्योग, सेवा व्यवसाय लगायत विभिन्न क्षेत्रका परियोजनाहरू समावेश छन्।
गत वर्ष प्रतिष्ठानले ६ सय उद्यमीलाई करिब ८८ करोड रुपैयाँ बराबरको स्टार्टअप कर्जा वितरण गरेको थियो।


