काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ। काठमाडौँको कमलादिस्थितन नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहानदेखि मतदान सुरु भएको हो।

महासंघको ७३ पदाधिकारीका लागि १३७ व्यवसायीले उम्मेदवारी दिएका छन्। जिल्ला/नगर, वस्तुगत र एशोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ।

जिल्ला/नगर उपाध्यक्षका लागि चार जनाबीच प्रतिस्पर्धा छ भने वस्तुगत र एशोसिएट उपाध्यक्षमा दुई/दुई जनाको उम्मेदवारी परेको छ। विभिन्न पदमा व्यवसायीहरूले प्यानलसहित चुनावी प्रतिस्पर्धा तीव्र बनाएका छन्।

चुनावी मैदानमा बाहिरिँदै गरेका अध्यक्ष चन्द्र ढकाल र हालका वरिष्ठ उपाध्यक्ष एवं भावी अध्यक्ष अञ्जन श्रेष्ठ प्यानल नै बनाएर मैदानमा उत्रिएका छन्। ढकालले वरिष्ठ उपाध्यक्षका रूपमा हालका वस्तुगत उपाध्यक्ष हेमराज ढकाललाई समर्थन गरिरहँदा श्रेष्ठले जिल्लानगर उपाध्यक्ष सुरकृष्ण बैद्यलाई अघि सारेका छन्।