काठमाडौँ: आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको निर्णायक खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा २५६ रन बनायो।
नेपालको इनिङ्समा ओपनर आशिफ शेखले उत्कृष्ट प्रदर्शनी गरे। उनले ९७ बल खेल्दै ७ चौका र ५ छक्का प्रहारसहित ९४ रन जोडे। शतक नजिक पुगेका उनी नदीम खानको बलमा क्याच आउट भए।
नेपालका लागि दोस्रो विकेटमा आशिफ र अर्जुन कुमालको साझेदारीमा १२२ रन बनाउँदा अर्जुनले ८७ बलमा ४ चौकासहित ४८ रन बनाए।
मध्यक्रममा भने नेपालले अपेक्षित प्रदर्शन गर्न सकेन। गुल्सन झा १७ रनमा एलबीडब्लु भए भने कप्तान रोहित पौडेल ९ रनमै सीमित रहे। विनोद भण्डारी र करण केसीले खाता खोल्न सकेनन्।
दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाए पनि लामो समय टिक्न सकेनन्। आरिफ शेखले २३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै आक्रामक ४३ रन जोडेपछि नेपालको स्कोर उकासिएको थियो। अन्त्यतिर नन्दन यादव (२) र सन्दीप लामिछाने (१) सस्तोमै आउट हुँदा नेपालले अपेक्षाभन्दा केही कम स्कोरमा समेटिनुपर्यो। ललित राजवंशी भने रन जोड्न नसकी अविजित रहे।
ओमानका लागि नदीम खानले सर्वाधिक ३ विकेट लिए। सकिल अहमद र हसनैन शाहले समान २–२ विकेट लिँदा जितेन रामानन्दी र आर्यन विष्टले एक–एक विकेट हात पारे।


