काठमाडौँ: आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ। गुल्सन झाको धारिलो बलिङ र आशिफ शेखको आक्रामक इनिङ्सले नेपाली टोलीलाई निर्णायक जित दिलाएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमै १ सय ७५ रनमा समेटियो। ओमानको इनिङ्स धराशायी बनाउने क्रममा गुल्सन झाले ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए। करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए।
टस जितेर ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा २ सय ५६ रनमै अलआउट भए पनि शीर्षक्रमको प्रदर्शन बलियो रह्यो। ओपनर आशिफ शेखले ९४ रनको उत्कृष्ट इनिङ्स खेल्दै नेपालको स्कोर उकासे। उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। अर्जुन कुमालसँग दोस्रो विकेटका लागि उनले १ सय २२ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ्सलाई स्थिरता दिएका थिए। कुमालले ४८ रन जोडे।
मध्यक्रममा आरिफ शेखले २३ बलमै ४३ रनको तीव्र योगदान दिए भने दीपेन्द्र सिंह ऐरीले ३३ रन थपे। अन्य ब्याट्सम्यान भने ठूलो स्कोर बनाउन असफल भए। ओमानका लागि नदीम खानले ३ विकेट लिए भने सकिल अहमद र हसनैन शाहले समान २–२ विकेट झारे।
यो जितसँगै नेपालले घरेलु सिरिजमा तीन खेलबाट ६ अंक जोड्दै सशक्त उपस्थिति जनाएको छ। समग्रमा २४ खेलबाट १८ अंक बनाएको नेपाल तालिकामा प्रतिस्पर्धी स्थितिमा रहेको छ। २८ खेलमा ३१ अंकसहित ओमान तेस्रो स्थानमा छ भने यूएई २४ खेलबाट १४ अंकसहित पुछारमा रहेको छ।
नेपालका लागि शीर्ष ६ भित्र रहनु अत्यन्त महत्वपूर्ण छ, जसले ओडीआई हैसियत जोगाउन मद्दत गर्नेछ।


