काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भएका छन्।
केही मत गणना गर्न बाँकी छँदै प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठसँग गणना गर्न बाँकी मतभन्दा ज्यादा मतान्तर बनाएसँगै पाण्डेको जित सुनिश्चित भएको हो। औपचारिक घोषणा हुन भने बाँकी छ।
महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा प्रबलजंग व्यावसायिक घराना लोमश ग्रुपका निर्देशक हुन्। पाण्डे बैंक, इन्स्योरेन्स, औषधि, सिमेन्टलगायत उद्योगमा सक्रिय छन्। यसअघि उनले मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंक, सिटिजन्स बैंकलगायतमा नेतृत्वदायी भूमिका खेलिसकेका छन्।
पाण्डे बैंक सञ्चालक समिति सदस्य हुँदा मर्जर तथा एक्विजिसन समितिमा रहेर तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। व्यावसायिक रूपमा सक्रिय हुनुपूर्व उनीसँग नेपाल टेलिकममा इन्जिनियरका रूपमा काम गरेको अनुभव पनि छ।
उनी नवनियुक्त महासंघ अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्व टिम निर्माण तथा चुनावी व्यवस्थापनमा सक्रिय थिए। यसअघि भवानी राणालाई महासंघको अध्यक्ष बनाउन पनि उनले सक्रिय भूमिका खेलेका थिए।


