ताप्लेजुङ- ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी बाबुछोराको मृत्यु भएको छ। सोमबार बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राई र उनका बाबु ६७ वर्षीय केशरबहादुर राईको मृत्यु भएको हो।
सिदिङवा गाउँपालिका वडा नम्बर-६ का वडा सदस्य चन्द्रबहादुर बानियाँका अनुसार उनहरूले छिमेकीको घर नजिकै गाडी पार्किङ गरेका थिए। पहिरोको जोखिम देखिएपछि गाडी जोगाउनका लागि दुवै जना गएका थिए। त्यही बेला आएको पहिरोमा परी दुवै बाबुछोराको मृत्यु भएको हो।
राई परिवारकै छिमेकका थप दुई जना पनि गम्भीर घाइते छन्। उनीहरूको उद्धारका लागि हेलिकोप्टर मगाइएको छ। घाइते दुवै जनालाई गाउँलेहरूले उद्धार गरी हेलिकोप्टर ल्यान्ड गर्न सक्ने स्थानमा निकालेका छन्।
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङ सदरमुकामसम्म पुगेको छ। तर पनि मौसम प्रतिकूलता भएका कारण हेलिकोप्टर जान सकेको छैन। सिदिङवा-६ मा भने मौसम खुल्दै गइरहेकभो बानियाँले जानकारी दिए। गम्भीर घाइते ४५ वर्षीय राजकुमार राईको उद्धारका लागि गाउँलेहरू प्रतीक्षामा छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले मेहेलेको मुकुभञ्ज्याङमा पहिरो गएको हो।
मृतक सुरेश राईले आइतबार बिहान मात्र पहिरोले बगाएको मेहेले स्वास्थ्यचौकीको भवनको फोटो फेसबुकमा राखेका थिए। ‘स्याड इमोजी’सहित फोटो पोस्ट गरेको २४ घण्टा नबित्दै बाबुसहित उनको मृत्यु भएको हो। ताप्लेजुङ बजारमा व्यवसाय गर्दै आएकी अञ्जना कडरिया कटुवालका अनुसार सुरेश र उनका बुबा स्थानीयस्तरमा अलैँची किनबेचलगायतका व्यवसायमा संलग्न थिए।

ओढारमा बसेकालाई उद्धारमा कठिनाइ
ताप्लेजुङको सिदिङवामा बाढीले याक्सा बगाएर ओढारमा बसेका तीन जनालाई उद्धार गर्न कठिनाइ भइरहेको छ। सिदिङवा गाउँपालिका–७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ, उनकी श्रीमती अनिता राई र अढाई वर्षकी छोरी ओढारमा छन्।
निरन्तर वर्षासँगै बाढी पहिरोले बसेको याक्सा (गोठ) छेउमा पहिरो गएपछि ओढारमा बस्न परेको हो। गत सोमबार घरदेखि झन्डै एकदिनको पैदलमा रहेको गाग्रे भन्ने स्थानमा आलु खन्न र मकै गोड्न गएका थिए। बसेको याक्साको छेउबाट पहिरो गएपछि ओढारमा सरेर बस्नुपरेको सिदिङवा गाउँपालिका–७ सुरुङखिका वडाध्यक्ष लक्ष्मण तामाङले बताए।
उनका अनुसार उनहरु बसेको ओढारको तीनतिर खोला छन्। कुलिङ खोला, पाङदा खोला र तावा खोलाको बीचमा रहेकाले उद्धार गर्न जानसमेत समस्या रहेको वडाध्यक्षतामाङले जानकारी दिएको छ।
‘बाढीसँगै आएको खोला घटेको छैन। खोला तरेर तत्काल जान सक्ने सम्भव छैन,’ उनले भने। सुरुङखिम गाउँदेखि करिब चार घण्टा लाग्ने भएकाले खोला तरेर जना समस्या भएको तामाङको भनाइरहेको छ। स्थानीय र प्रहरी उद्धारको लागि तयारी अवस्थामा छन्।
