काठमाडौं – युइएफए नेसन्स लिगको उपाधि स्पेनले जितेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै स्पेनले पहिलोपटक उपाधि जितेको हो।
सन् २०१८ बाट सुरु भएको यो प्रतियोगितामा अहिलेसम्म पोर्चुगल र फ्रान्स च्याम्पियनस भइसकेका छन्। यता स्पेन फाइनलमा पुगे पनि उपाधि जितेको थिएन्। क्रोएसिया भने पहिलो पटक मात्र यही वर्ष मात्र फाइनलमा पुगेको हो। क्रोएसिया दोस्रो पटक ठूलो प्रतियोगिताको फाइनलमा पुगेर उपाधि जित्न असफल भएको छ।
यसअघि रसिया विश्वकपमा फाइनलमा पुगेर उसले जित निकाल्न सकेको थिएन। तर उसले पेनाल्टी सुटआउटमा भने प्रभावसाली प्रदर्शन गर्दै आइरहेको थियो। नेदरल्याण्ड्सको रोटरडममा भएको फाइनलको खेल पनि पेनाल्टी सुटआउटमा पुगेको थियो। निर्धारित ९० मिनेट र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो। पेनाल्टीमा स्पेनका लागि डानी कार्भाजलले विजयी गोल गरेका थिए। यता, स्पेनका गोलकिपर उनाई सिमोनले क्रोएसियाका ब्रुनो पेटकोभिचको पेनाल्टी बचाएपछि स्पेनले जितको आधार तयार गरेको थियो।
स्पनेले सन् २०१२ को युरोपछि पहिलो उपाधि जितेको हो। आइतबार राति नै भएको अर्को खेलमा भने नेदरल्यान्ड्सलाई ३–२ ले हराउँदै इटालीले तेस्रो स्थान जितेको छ।
छैटौं मिनेटमा फेडेरिको डिमार्को र २० औं मिनेटमा डेभिड फ्रातेसीले गोल गर्दै इटलीलाई पहिलो हाफमै २–० को अग्रता दिलाएका थिए। दोस्रो हाफको ६८ औं मिनेटमा स्टेभन बेर्जविनले र जर्जिनियो विज्नाल्डमले ८९औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सका लागि दुई गोल फर्काएका थिए। यद्यपी ७२ औं मिनेटमा फेडेरिको चिसाले गोल गर्दै इटलीलाई लगातार अग्रता दिलाएर जिताए।


