काठमाडौँः चालू आर्थिक वर्ष २०८२/०८३ को वैशाखसम्म मुलुकमा ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्म उक्त रकमबराबर लगानी स्वीकृत भएको हो।
वैशाखमा मात्रै ११३ वटा आयोजनामार्फत तीन अर्ब ५२ करोड ३० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको विभागले जनाएको छ। तीमध्ये १०७ वटा आयोजना स्वचालित प्रणालीमार्फत र ६ वटा आयोजना स्वीकृति प्रणालीमार्फत स्वीकृत भएका हुन्।
विभागका अनुसार वैशाख महिनामा स्वीकृत लगानीबाट ९४८ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।
क्षेत्रगत रूपमा हेर्दा कृषि क्षेत्रमा सबैभन्दा बढी वैदेशिक लगानी आकर्षित भएको छ। कुल प्रतिबद्धताको ४९ प्रतिशत अर्थात् २२ अर्ब आठ करोड रुपैयाँ कृषि क्षेत्रमा केन्द्रित रहेको उद्योग विभागले जनाएको छ।
त्यसैगरी पर्यटन क्षेत्रमा १२ अर्ब ५४ करोड रुपैयाँ, सेवा क्षेत्रमा चार अर्ब २३ करोड रुपैयाँ, उत्पादनमूलक क्षेत्रमा दुई अर्ब ७० करोड रुपैयाँ तथा सूचना प्रविधि क्षेत्रमा एक अर्ब ७४ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ।
आयोजनाको संख्याका आधारमा भने सूचना प्रविधि क्षेत्र अग्रस्थानमा रहेको छ। यस अवधिमा उक्त क्षेत्रमा ४२१ वटा आयोजना स्वीकृत भएका छन्, जुन कुल आयोजनाको ५८ प्रतिशत हो।
वैशाखसम्म स्वीकृत भएका ७२८ आयोजनामध्ये ७११ वटा साना, ८ वटा मझौला र ९ वटा ठूला उद्योग रहेका छन्। वैशाख महिनामा मात्रै ११२ वटा साना र एउटा ठूलो उद्योग स्वीकृत भएको विभागले जनाएको छ।
चालू आर्थिक वर्षको वैशाखसम्म वैदेशिक लगानीका आयोजनामार्फत २३ हजार ५३० जनालाई रोजगारी दिने प्रतिबद्धता प्राप्त भएको छ।
यस्तै, उद्योग विभागले वैशाख महिनामा ८४ जना लगानीकर्ता, ४० जना प्रतिनिधि तथा ४२ जना आश्रित परिवार सदस्यलाई व्यावसायिक भिसाका लागि सिफारिस गरेको जनाएको छ।
यसैबीच, वैशाख महिनामा वैदेशिक लगानी भएका कम्पनीहरूले ३३ करोड ७८ लाख रुपैयाँ रोयल्टी र ९७ करोड ७३ लाख रुपैयाँ लाभांश फिर्ता लैजान अनुमति पाएका छन्।
जग्गा प्राप्तिका साथै नीतिगत अस्थिरताले नेपालमा पर्याप्त मात्रामा वैदेशिक लगानी आउन नसकेको व्यवसायीहरुको भनाई छ।


