काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आउँदो जेठ ८ गते हुने निर्वाचनका लागि लगानीकर्ता तथा व्यवसायी अम्बिका प्रसाद पौडेलले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेलले आफ्नो उम्मेदवारी पद प्राप्तिको आकांक्षाभन्दा संस्थागत विकास र व्यवसायी समुदायको विश्वासको सम्मानका रूपमा अघि सारेका छन्।
अन्य पदका लागि निर्वाचन भैसकेकोमा जेठ ८ गते वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।
पौडेल महासंघको कार्यकारी सदस्यका रूपमा तेस्रो कार्यकालमा छन्। उनले पूँजी बजार फोरम तथा कर तथा राजस्व समितिको सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्। ती भूमिकामा रहँदा कर, भन्सार, अन्तःशुल्कलगायत कानुनी तथा व्यवहारिक जटिलता समाधानका विषयमा सरकारसँग संवाद र सहकार्य गर्दै निजी क्षेत्रका मुद्दा उठाउने प्रयास गरेको उनको दाबी छ।
उनले भनेका छन्–
नेपाल उद्योग वाणिज्य महासङ्घको कोषाध्यक्ष पदमा मेरो उम्मेदवारी किन ?
आउँदो जेठ ८ गते सम्पन्न हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासङ्घको कोषाध्यक्ष पदको निर्वाचनमा मैले आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने निर्णय गरेको छु। यो निर्णय मैले कुनै व्यक्तिगत आकांक्षा वा पद प्राप्तिको उद्देश्यले नभई व्यवसायी समुदायको साझा भावना, संस्थागत विकासप्रतिको प्रतिबद्धता तथा महासङ्घलाई अझ सक्षम, प्रभावकारी, विधि र विधान अनुसार अघि बढाउन र सबैको अपनत्व भएको संस्था बनाउने दृढ संकल्पका साथ अघि बढाएको हुँ।
महासङ्घको कार्यकारी सदस्यका रूपमा यो मेरो तेस्रो कार्यकाल हो। यहाँसम्म आइपुग्दा तपाईंहरू सबैको माया, विश्वास, सद्भाव र निरन्तर साथका कारण म प्रत्येक पटक उत्कृष्ट मतसहित निर्वाचित हुँदै आएको छु। यो मेरो लागि गौरवको विषय मात्र नभएर झन ठूलो जिम्मेवारीको अनुभूति पनि हो। त्यसका लागि सम्पूर्ण व्यावसायी साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
यसअघि मैले पूँजी बजार फोरम तथा कर तथा राजस्व समितिको सभापतिको जिम्मेवारी निर्वाह गर्ने अवसर पाएको थिएँ। ती भूमिकामा रहँदा व्यवसायीका आवाज सरकारसम्म पुर्याउने, कर तथा राजस्वसम्बन्धी जटिलताहरू समाधानका लागि पहल गर्ने,।कर , भन्सार , अन्तशुल्क लगायतका कानुनका व्यवहारिक समस्याहरू उठान गर्ने तथा निजी क्षेत्रका हितका पक्षमा निरन्तर संवाद र सहकार्य गर्ने प्रयास गर्दै आएको छु।
मेरो विश्वास छ- बलियो अर्थतन्त्रका लागि बलियो निजी क्षेत्र आवश्यक हुन्छ र बलियो निजी क्षेत्रका लागि सक्षम, पारदर्शी तथा उत्तरदायी नेपाल उद्योग वाणिज्य महासङ्घ उत्तिकै अपरिहार्य हुन्छ। त्यसैले मेरो उम्मेदवारी केवल एउटा पद मात्र ओगट्ने बहाना होइन, संस्थागत सुशासन, व्यवसायीहरूको सम्मान र अधिकारको संरक्षण तथा महासङ्घलाई अझ गतिशील, प्रभावकारी र सम्पूर्ण व्यवसायीहरूको साझा घर बनाउने उद्देश्यका लागि हो।
म चाहन्छु- हरेक व्यवसायीले महासङ्घलाई “मेरो संस्था” भन्ने अनुभूति गरून्। साना, मझौला वा ठूला सबै व्यवसायीका आवाज समान रूपमा सुनिने वातावरण निर्माण होस्। संस्था केही व्यक्तिको मात्र नभई सम्पूर्ण व्यवसायी समुदायको साझा थलोका रूपमा अझ सशक्त बनोस्।
हिजो जसरी तपाईं व्यवसायी साथीहरूको विश्वास जितेर काम गरेको थिएँ, आगामी दिनमा अझ बढी समर्पण, इमानदारी, मेहनत र जिम्मेवारीका साथ संस्थाको हितमा निरन्तर खटिरहने प्रतिबद्धता व्यक्त गर्दछु।
म पुनः स्पष्ट र दृढ रूपमा समस्त व्यवसायी साथीहरूलाई विश्वास दिलाउन चाहन्छु कि यो मेरो निर्णय कुनै व्यक्तिगत महत्वाकांक्षाको यात्रा नभई संस्थागत विकासको सशक्त अभियान हो, व्यवसायीहरूको आत्मविश्वास र अपेक्षाको सम्मान गर्दै महासङ्घको गरिमा, विश्वसनीयता र प्रभावकारितालाई अझ उच्च शिखरमा पुर्याउने साझा संकल्प हो।
त्यसैले तपाईंहरूको साथ, सुझाव, विश्वास र अमूल्य समर्थनको अपेक्षा गर्दै म कोषाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्दछु।