नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कांग्रेस ठूलो भएको तथ्य एमालेले स्विकार नगरेको बताएका छन्। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिनेक्रममा सदनमा भएको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
‘नेकपा एमालेसँग मेरो एउटा अनुरोध छ,’ उनले भने, ‘यो सदनमा नेपाली कांग्रेस भन्ने पार्टी पनि यो सदनको पहिलो पार्टी हो भन्ने कुरा तपाईंहरूले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ?’
उनी अघि बोलेका एमाले सांसद् विष्णु पौडेलले एमाले पहिलो दल भएको बताएका थिए।
सांसद् पौडेलले राष्ट्रिय सहमतिको कुरा गर्दा एमालेले एक्लै हिड्न खोज्दा गठबन्धन टुटेको बताए। सनक छुटेका दित संसद् विघटन गर्न जनताले जनमत नदिएको उनको भनाइ थियो।
‘दुई पटकसम्म संसद विघटन भयो? कसका कारण विघटन भयो? संविधानमा कहाँ लेखिएको छ ? सर्वोच्चले गल्ती भयो भनेर सच्याइदियो । अनि माननीयहरु यहाँ आएर बोल्नुहुन्छ, मैले त बहादुरी गरेँ । त्यसका निम्ति लाहछाप लगाउन यो प्रतिनिधिसभा आएको हो र? यही कारण परिस्थिति फरक पर्यो,’ उनले भने, ‘जुन दिन प्रधानमन्त्रीलाई सनक छुट्यो, त्यो दिन संसद विघटन गर्नुस् भनेर जनताले जनमत दिएका होइनन् ।’


