काठमाडौँः एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सकेर सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
सोमध्ये १० प्रतिशत अर्थात् ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ । त्यस्तै, कम्पनीले ३९ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १५ हजार ८०० कित्ता शेयर कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ ।
अब भने कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले जेठ २७ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले विगत १४ वर्षदेखि नेपाली बजारमा रङ तथा पेन्ट उत्पादन गर्दै आएको छ। पछिल्ला केही वर्षमा वित्तीय चुनौती सामना गरे पनि कम्पनीले आगामी वर्षदेखि नाफामुखी यात्रामा फर्किने प्रक्षेपण सार्वजनिक गरेको छ। विवरणपत्रअनुसार आर्थिक वर्ष २०८०÷८१ सम्म कम्पनी २ करोड ९ लाख रुपैयाँ संचित नोक्सानीमा रहेको छ। तर, आर्थिक वर्ष २०८१÷८२ मा भने २३ हजार २१७ रुपैयाँ नाफा आर्जन गरेको छ । त्यपछि चालु आर्थिक वर्षमा कम्पनीले १ करोड ४४ लाख रुपैयाँ नाफा आर्ज गर्ने प्रक्षेपन गरेको छ ।
त्यस्तै, आगामी आर्थिक वर्ष २०८३÷८४ मा कम्पनीले ४ करोड रुपैया संचित नाफा कमाउने प्रक्षेपण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८४÷८५ सम्म संचित नाफा ७ करोड ४४ लाख रुपैयाँ पु¥याउने लक्ष्य राखेको छ।
हाल कम्पनीको प्रतिशेयर नेटवर्थ ११३.९७ रुपैयाँ रहेको छ। आगामी वर्षहरूमा यो क्रमशः बढ्ने अनुमान गरिएको छ। त्यस्तै, आगामी आर्थिक वर्षका लागि प्रतिशेयर आम्दानी (ईपीएस) ९.६० रुपैयाँ रहने प्रक्षेपण गरिएको छ।
आईपीओबाट संकलन हुने ७ करोड ९० लाख रुपैयाँ कम्पनीले विस्तार योजनामा खर्च गर्ने जनाएको छ। कम्पनीका अनुसार नयाँ जग्गा तथा भवन खरिदमा ३ करोड १५ लाख रुपैयाँ, मेसिनरी विस्तारमा ६० लाख रुपैयाँ तथा ढुवानीका साधन खरिदमा १ करोड ५७ लाख रुपैयाँ खर्च गरिनेछ। बाँकी रकम कच्चा पदार्थ खरिद र बजार विस्तारमा प्रयोग गरिने योजना रहेको छ।
कम्पनीले आफ्नो वित्तीय प्रक्षेपणका आधारमा लगानी गरेको रकम पाँच वर्षभित्र फिर्ता हुने अनुमान गरेको छ। कम्पनीका अनुसार प्रोजेक्ट इन्टरनल रेट अफ रिटर्न (आईआरआर) ३४.८७ प्रतिशत रहेको छ भने १० प्रतिशत डिस्काउन्ट रेटमा आधारित नेट प्रिजेन्ट भ्यालु २८ करोड ११ लाख ७९ हजार ४४३ रुपैयाँ पुगेको छ।
एभरेष्ट कलरले आर्थिक वर्ष २०८२/८३ मा १ करोड ७६ लाख २२ हजार रुपैयाँभन्दा बढी खुद नाफा गर्ने प्रक्षेपण गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३÷८४ मा २ करोड ५७ लाख ८८ हजार रुपैयाँ र आर्थिक वर्ष २०८४/८५ मा ३ करोड ४७ लाख ८२ हजार रुपैयाँ खुद नाफा हुने अनुमान सार्वजनिक गरेको छ। कम्पनीले उत्पादन क्षमता विस्तार, आधुनिक प्रविधिको प्रयोग, नयाँ प्रकारका रङ उत्पादन तथा देशभर बिक्री सञ्जाल विस्तारमार्फत नाफा वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।
कम्पनीको क्रेडिट रेटिङ केयर रेटिङ नेपाल ले “केयर–एनपी बीबी (आईएस)” प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीमा मध्यम स्तरको वित्तीय जोखिम रहेको संकेत गर्छ। हाल कम्पनीले नेपालको रङ बजारमा करिब १ देखि १.५ प्रतिशत हिस्सा ओगटेको जनाएको छ।
कम्पनीले आगामी पाँच वर्षभित्र उद्योगको क्षमता विस्तार गर्ने, नयाँ प्रविधि भित्र्याउने तथा नेपाली रङ उद्योगमा अग्रणी स्थान हासिल गर्ने लक्ष्य राखेको छ। हाल कम्पनीले ६० भन्दा बढी प्रकारका रङ तथा पेन्ट उत्पादन गर्दै आएको छ।
कम्पनीमा अनुभवी उद्यमी तथा लगानीकर्ताको संलग्नता रहेको छ। प्रमुख सेयरधनीहरूमा रामप्रसाद सापकोटा, रोजिना श्रेष्ठ, सरोज लुइटेल, राजन श्रेष्ठ, सोहन चौधरी र महेश्वर खनाल रहेका छन्। कम्पनीका प्रबन्ध निर्देशक सरोज लुइटेलसँग रङ उद्योगमा करिब २४ वर्षको अनुभव रहेको छ भने अध्यक्ष महेश्वर खनालसँग व्यापार क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको बताइएको छ।
कम्पनीको वित्तीय विवरणले एभरेष्ट कलर बिस्तारै संचित नोक्सानी घटाउँदै नाफातर्फ अग्रसर भएको संकेत गरेको छ। आईपीओबाट उठ्ने रकम उत्पादन क्षमता विस्तार र बजार विस्तारमा प्रयोग हुने भएकाले दीर्घकालीन रूपमा कम्पनीको वृद्धि सम्भावना देखिएको छ। यद्यपि, लगानीकर्ताले कम्पनीको क्रेडिट रेटिङ, संचित नोक्सानी तथा बजार प्रतिस्पर्धालाई ध्यानमा राखेर लगानी निर्णय लिनुपर्ने देखिन्छ।


