काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस दिन भने सामान्य बढेको हो ।
शुक्रबार नेप्से परिसूचक २.६४ अंकले बढेर २ हजार ६५५.२२ विन्दुमा पुगेको छ ।
नेप्से परिसूचक बढे पनि यस दिन कारोबार रकम भने घटेको छ । बिहीबार ४ अर्ब ७२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा शुक्रबार ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
यस दिन ३३६ स्टकको ३३ हजार २१५ पटकको कारोबारमा १ करोड ७ लाख १३ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।
कारोबारमा आएका कम्पनीमध्ये क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक १४.०८ प्रतिशत बढेको छ । यस्तै, घोराही सिमेन्ट इण्डष्ट्रीको सेयरमूल्य सर्वाधिक ४.४३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा घोराही सिमेन्ट इण्डष्ट्री शीर्ष स्थानमा रहेको छ । कम्पनीको यस दिन २१ करोड ६३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।


