काठमाडौँः पशु स्वास्थ्य तथा भेटेरिनरी औषधि उत्पादन क्षेत्रमा सक्रिय कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण सेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । कम्पनीले कार्तिक १९ गते आईपीओ निष्कासनको लागि अनुमति पाएको हो ।
कम्पनीले आफ्नो चुक्ता पुँजीको २१.२५ प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ ।
भेटेरिनरी औषधि उत्पादनलाई मुख्य व्यवसाय बनाएको कान्तिपुर फर्मास्युटिकल्सले पशु पोषण, फिड एडिटिभ्स तथा अन्य पशु स्वास्थ्यसम्बन्धी सामग्रीको अनुसन्धान, उत्पादन र बिक्री वितरण गर्दै आएको छ । पशुपन्छीको स्वास्थ्य र पोषणसँग सम्बन्धित उत्पादन बजारमा उपलब्ध गराउँदै आएको कम्पनीले आईपीओमार्फत पुँजी बजारमा प्रवेश गर्न लागेको हो ।
कम्पनीको उत्पादन कारखाना काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७, शिखरपुरमा रहेको छ भने कर्पोरेट कार्यालय ललितपुरको बालकुमारीमा छ । कम्पनीले उत्पादनको गुणस्तर सुधार तथा नयाँ प्रविधि भित्र्याउने उद्देश्यले दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी केबीएनपी कोरियासँग प्राविधिक सम्झौता गरी काम गरिरहेको जनाएको छ ।
उक्त सहकार्यले कम्पनीको उत्पादन प्रविधि तथा गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी पशु स्वास्थ्यसम्बन्धी औषधि तथा पोषणजन्य सामग्रीको उत्पादनमा प्रविधि र अनुसन्धानलाई प्राथमिकता दिँदै आएको कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको हो ।
सेबोनबाट आईपीओ निष्कासनको अनुमति पाएसँगै कम्पनीका लागि सर्वसाधारणमा सेयर जारी गर्ने बाटो खुलेको छ । अब कम्पनीले निष्कासनसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी सेयर बिक्री खुला गर्ने तयारी गर्नेछ ।
कम्पनीले निष्कासन गर्न लागेको १७ लाख कित्ता सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ करोड रुपैयाँ बराबर हुनेछ । आईपीओ निष्कासनपछि कम्पनीको सेयर संरचनामा सर्वसाधारणको सहभागिता थपिनेछ ।


