काठमाडौँ: सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई चार वर्षका लागि नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। चुडामणि चापागाईंले गत असार तेस्रो साता राजीनामा दिएपछि नेप्सेको सीईओ पद रिक्त थियो।
नवनियुक्त सीईओ सुवेदीलाई बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेले नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।
सुवेदीसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशक लामो अनुभव रहेको छ। उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमबीए र बीएड गरेका छन्।
सुवेदीले आफ्नो व्यावसायिक जीवनको लामो समय कृषि विकास बैंकमा बिताएका छन्।
कृषि विकास बैंकमा आबद्ध हुनुअघि उनले नेपाल राष्ट्र बैंकमा साढे चार वर्ष काम गरेका थिए। कर्मचारी सञ्चय कोषमा समेत कार्यअनुभव बटुलेका उनीसँग विभिन्न वित्तीय संस्थाको सञ्चालक तथा नेतृत्व तहमा रहेर काम गरेको अनुभव पनि छ।
उनी नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिति सदस्य रहेका थिए।
यसअघि साना किसान विकास लघुवित्त, डीप्रोक्स लघुवित्त र कोष व्यवस्थापन कम्पनीमा समेत सञ्चालक वा अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।


