राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरुले हाइड्रोजन गाडी चलाउन दिएपनि स्टार्ट नहुँदै हामफालेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्ताव माथिको छलफलमा भाग लिँदै लिङ्देनले प्रचण्डलाई ड्राइभरको संज्ञा दिए।
‘धेरै गाडी फेरिरहने ड्राइभर, गाडी फेरिहने अनुभवले गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ। ‘गाडी फेरिराख्ने ड्राइभरले ‘मेरो गाडी थोत्रो भयो, पुरानो भयो, तपाईहरुको चढ्छु, हाँक्छु मेरो अनुभव पनि छ भनेपछि लाइसेन्स भएको मान्छे दिउँ भनेर गाडी पनि कहाँ हाइड्रोजन गाडी दिएको,’ उनले भने, ‘गाडी स्टार्ट नहुँदैखेरि ड्राइभर हामफालेर तैट म त पुरानै गाडी चलाउँछु भनेर हिँडेपछि हामीले के गर्ने?’
उनले राप्रपासँग गाडी चलाउने सीप भएपनि लाइसेन्स नभएको बताए। ‘हामीसँग गाडी चलाउने सीप त छ। तर लाइसेन्स छैन। अब पर्खनुको विकल्प छैन,’ उनले भने। लिङ्देनले प्रधानमन्त्री प्रचण्ड भाग्यमानी भएको बताए। ‘उहाँ भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ, दुई महिनामा दुई–दुई पटक विश्वासको मत लिदै हुनुहुन्छ, वैशाख १५–२० तिर फेरि यस्तै दिन नआओस्,’ व्यंग्य गर्दै उनले भने।
प्रधानमन्त्री प्रचण्डलाई अहिले राप्रपाको विश्वासको मतको आवश्यक नभएको उनको भनाइ थियो। ‘हामीले फरक मत राखेर सरकारबाट हिँडेका हौं। त्यसैले तपाईंलाई विश्वासको मत दिन सकेनौं,’ उनले भने।


