काठमाडौँ: सुदूरपश्चिमको धनगढीमा रहेको सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्काशनको तयारी अघि बढाएको छ। कम्पनीले व्यवसाय विस्तार, उत्पादन क्षमता वृद्धि तथा नयाँ नयाँ प्लान्ट स्थापनाका लागि आईपीओ जारी प्रक्रिया सुरु गरेको हो। उद्योगले साढे आठ करोड रुपैयाँको आईपीओ निष्काशन गर्न लागेको हो।
आईपीओ रकम मध्ये पाँच करोड ५० लाख रुपैयाँ हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ उत्पादन प्लान्ट स्थापनामा लगानी गर्ने उद्योगले जनाएको छ। उक्त परियोजनाअन्तर्गत भवन निर्माण, आधुनिक मेसिन खरिदलगायत रहेका छन्।
त्यसैगरी, बाँकी तीन करोड रुपैयाँ कैलालीको हरेया क्षेत्रमा रहेको विद्यमान उत्पादन प्लान्टको क्षमता विस्तार तथा पूर्वाधार सुधारमा लगानी गरिने भएको छ। कम्पनीले यी दुवै परियोजनाले उत्पादन वृद्धि, लागत नियन्त्रण तथा बजार विस्तारमा सहयोग पुग्ने विश्वास लिएको छ।
हेटौंडामा प्रस्तावित नयाँ उत्पादन युनिट सञ्चालनमा आएपछि कम्पनीले देशभर वितरण सञ्जाल विस्तार गर्ने योजना बनाएको छ। यही कारण कम्पनीको आईपीओ आगामी दिनमा लगानीकर्ताहरूका लागि चासोको विषय बन्न सक्ने अनुमान गरिएको छ।
कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेर बाँडफाँड पनि गरिसकेको छ। अब कम्पनीले सर्वसाधारणतर्फको आईपीओ निष्काशन गर्ने छ। यद्यपि, सर्वसाधारणका लागि आईपीओ निष्काशन मिति भने हालसम्म तय भएको छैन।
कम्पनीले सार्वजनिक गरेको विवरणपत्रअनुसार आगामी वर्षहरूमा नाफामा उल्लेख्य वृद्धि हुने प्रक्षेपण गरिएको छ। विशेषगरी हेटौंडामा नयाँ उत्पादन प्लान्ट स्थापना र बजार विस्तार रणनीतिका कारण कम्पनीको आम्दानी तथा नाफा दुवैमा सुधार आउने अपेक्षा गरिएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीले एक करोड ९३ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको छ। त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा खुदनाफा बढेर तीन करोड ५० लाख ६८ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।
कम्पनीले आर्थिक वर्ष २०८३/०८४ मा चार करोड ३७ लाख ८४ हजार रुपैयाँ र २०८४/०८५ मा चार करोड ४२ लाख ८५ हजार रुपैयाँ खुदनाफा आर्जन गर्ने लक्ष्य राखेको छ।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी संरचनामासमेत परिवर्तन आउनेछ। हाल कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ छ। कम्पनीले आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ। आईपीओपछि कम्पनीको चुक्ता पुँजी बढेर ३४ करोड रुपैयाँ पुग्नेछ।
यो प्रक्षेपित नाफा आर्जन गर्नका लागि कम्पनीले विशेष गरी आफ्नो उत्पादन क्षमता र बजार विस्तारलाई मुख्य आधार बनाएको छ। यसका साथै कम्पनीले हालको उत्पादनमा मात्र सीमित नभई रोड सेफ्टी प्रोडक्ट, टायल एड्डेसिभ, टायल ग्राउट र विभिन्न कन्स्ट्रक्सन केमिकल जस्ता नयाँ र बढी नाफा हुने उत्पादनहरू बजारमा ल्याएर आम्दानी बढाउने योजना बनाएको छ।
सुदूरपश्चिममा एकलौटी जस्तै बजार ओगटेको यस कम्पनीले अब देशभर डिलर सञ्जाल विस्तार गर्ने, अत्याधुनिक मेसिनरीमार्फत उत्पादन लागत घटाउने र निकट भविष्यमा भारतमासमेत निर्यात गर्ने रणनीति लिएर नाफा कमाउने लक्ष्य राखेको छ।
सेयर संरचनाअनुसार आईपीओपछि कम्पनीमा संस्थापक समूहको ७५ प्रतिशत र सर्वसाधारणको २५ प्रतिशत स्वामित्व रहनेछ। संस्थापक शेयरधनीमध्ये लक्ष्मीदत्त पाण्डेको सबैभन्दा बढी २६.०५५ प्रतिशत हिस्सा रहेको छ।
उनी निर्माण तथा व्यावसायिक क्षेत्रमा लामो अनुभव भएका व्यक्ति मानिन्छन्। त्यस्तै, शिवसिंह कार्कीको २३.७४ प्रतिशत शेयर स्वामित्व रहेको छ। उनी विभिन्न बैंक तथा बीमा कम्पनीमा सञ्चालकको अनुभव भएका व्यवसायी हुन्।
कम्पनीका प्रबन्ध सञ्चालक नवीनप्रसाद भट्टको ३.७८ प्रतिशत, तर्कराज भट्टको २.०७ प्रतिशत तथा अनुप अर्यालको १.१८ प्रतिशत हिस्सा रहेको छ।
व्यवसाय विस्तारका क्रममा कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा पनि लिएको छ। विवरणपत्रअनुसार २०८२ पुस मसान्तसम्म कम्पनीको कुल बैंक दायित्व १० करोड २३ लाख ४२ हजार रुपैयाँ रहेको छ।
कुमारी बैंकबाट कम्पनीले चालु पूँजी तथा आवधिक कर्जासहित कुल छ करोड २८ लाख रुपैयाँ बराबरको वित्तीय सुविधा लिएको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकबाट तीन करोड ७३ लाख रुपैयाँ तथा एभरेष्ट बैंकबाट २२ लाख १२ हजार रुपैयाँ बराबरको कर्जा सुविधा उपयोग गरिएको उल्लेख गरिएको छ।
कम्पनीको वित्तीय अवस्थाबारे मूल्यांकन गर्दै केयर रेटिङ नेपालले ‘केयर–एनपी बीबी (आईएस)’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
सर्वोत्तम पेन्ट्सले आफ्नो लगानी फिर्ता हुने अवधिको सम्बन्धमा सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.६० वर्ष रहेको छ। त्यस्तै, मुद्राको समय सापेक्षित मूल्यलाई समेत गणना गर्दा हुने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि ७.१० वर्ष रहने प्रक्षेपण गरिएको छ। यसको अर्थ कम्पनीले अहिले गरेको लगानी करिब ७ वर्षभित्र व्यवसायबाटै असुल गरिसक्ने लक्ष्य लिएको छ।
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ १७ पैसा रहेको छ। कम्पनीले भविष्यमा उत्पादन विस्तार, बजार पहुँच वृद्धि तथा ब्रान्ड सुदृढीकरणमार्फत प्रतिस्पर्धी क्षमता अझ बलियो बनाउने रणनीति अघि सारेको जनाएको छ।
नेपालको पेन्ट्स उद्योगमा पछिल्ला वर्षहरूमा प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा सर्वोत्तम पेन्ट्सले पनि आफ्नो उत्पादन क्षमता विस्तार गर्दै बजार हिस्सा बढाउने लक्ष्य राखेको छ। कम्पनीले विशेषगरी वातावरणमैत्री तथा गुणस्तरीय पेन्ट्स उत्पादनमा जोड दिँदै आएको जनाएको छ।


