काठमाडौं। नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिई केही संस्थाले आफ्नो नाममा ‘बैंक’ शब्द प्रयोग गरेपछि यतिबेला त्यस विषयमा चर्चा सुरु भएको छ। विशेषगरी नेपाल किसान बैंक लिमिटेड र राष्ट्रिय खाद्य बैंक लिमिटेड ले ‘बैंक’ शब्द प्रयोग गर्दै गतिविधि सञ्चालन गरिरहेको विषयलाई लिएर प्रश्न उठेको हो।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार कुनै कम्पनीले आफ्नो नाममा ‘बैंक’ शब्द राख्नुअघि राष्ट्र बैंकको अनुमति अनिवार्य नपरे पनि वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त संस्थाबाहेक अरूले यस्तो शब्द प्रयोग गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुन सक्छ।
उनले भने, ‘यदि कुनै कम्पनीले ‘बैंक’ शब्द प्रयोग गरेर सञ्चालन गर्यो र पछि समस्या आयो भने त्यसले बैंकिङ क्षेत्रप्रति नकारात्मक मनोवैज्ञानिक असर पार्न सक्छ। त्यसैले जहाँ पायो त्यहीँ ‘बैंक’ शब्द प्रयोग नगरियोस् भन्ने हाम्रो उद्देश्य हो।’
पौडेलले विगतमा केही फाइनान्स कम्पनी र लघुवित्त संस्थाले पनि ‘बैंक’ शब्द प्रयोग गर्ने गरेको उल्लेख गर्दै पछि कानुन संशोधन गरेर त्यस्तो प्रयोग रोकिएको बताए। उनका अनुसार अहिले राष्ट्र बैंकबाट अनुमति प्राप्त फाइनान्स र लघुवित्त संस्थाले समेत आफ्नो नाममा ‘बैंक’ शब्द प्रयोग गर्न पाउँदैनन्।
यस विषयमा राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकरनाथ उप्रेतिले भने संस्था कानुनी प्रक्रियाअनुसार दर्ता भएर सञ्चालनमा रहेको दाबी गरेका छन्। उनले आफूहरू पाँच वर्षदेखि औपचारिक रूपमा दर्ता भई कृषि क्षेत्रमा काम गरिरहेको बताउँदै ‘बैंक’ शब्द प्रयोग गरेकै आधारमा अनावश्यक विवाद सिर्जना गरिएको बताए।
संस्थाले जारी गरेको विज्ञप्तिमा आफूहरूले कुनै पनि प्रकारको बचत, ऋण, मौद्रिक वा वित्तीय कारोबार नगर्ने स्पष्ट पारेको छ। कम्पनीका अनुसार संस्था कृषि उत्पादन, खाद्यान्न संकलन तथा व्यापारमा केन्द्रित भएर सञ्चालन भइरहेको छ।
विज्ञप्तिमा भनिएको छ, राष्ट्रिय खाद्य बैंक कृषि क्षेत्रमा आत्मनिर्भरता बढाउने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो। यसले किसानसँग सहकार्य गर्दै धान, गहुँ, मकै, तरकारी तथा फलफूल उत्पादन र व्यापार गर्दै आएको जनाएको छ।
संस्थाका अनुसार हाल विभिन्न जिल्लामा कृषि उत्पादन विस्तारको काम भइरहेको छ। चालू आर्थिक वर्षभित्र २३ जिल्लामा कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ। त्यसका लागि कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन र रुपन्देहीलगायत जिल्लामा करिब ६०० बिघा जग्गा भाडामा लिएर उत्पादन सुरु गरिएको बताइएको छ। यस कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासनको तयारी पनि गरिरकेको छ।
खाद्य बैंकले कृषिमा परनिर्भरता घटाउने, स्वदेशमै उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने तथा प्राङ्गारिक उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले काम गरिरहेको जनाएको छ। साथै, आधारहीन समाचारका कारण भ्रममा नपर्न सेयरधनी तथा सरोकारवालालाई आग्रह गरिएको छ।
यस्तो बैंक प्रयोग गर्ने सँस्थाहरु अरु पनि छन्। यस घटनाले ‘बैंक’ शब्दको प्रयोगसम्बन्धी कानुनी व्यवस्था, त्यसको दायरा तथा सर्वसाधारणमा पर्ने प्रभावबारे नयाँ बहस सुरु भएको छ।


