काठमाडौँ: नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र ढाँटले रोड टु युएफसी सिजन–५ अन्तर्गत शानदार जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेका छन्। मकाउस्थित ग्यालेक्सी एरेनामा बिहीबार सम्पन्न क्वाटरफाइनल प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरे।
प्रतियोगितास्थलमा हजारौं नेपाली समर्थकको उत्साहजनक उपस्थितिले रविन्द्रलाई थप ऊर्जा दिएको थियो। ‘बझाङको बाघ’ उपनामले परिचित उनी रोड टु युएफसीमा जित हासिल गर्ने पहिलो नेपाली फाइटरसमेत बनेका छन्।
अब सेमिफाइनलमा रविन्द्रले जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीच हुने भिडन्तको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।
यसअघि उनको सामना म्याट्टी इयानसँग तय गरिएको थियो। तर इयान चोटका कारण बाहिरिएपछि फिलिपिन्सका अलिन्टोजोनले प्रतिस्पर्धामा स्थान पाएका थिए।
ब्यान्टमवेट विधामा प्रतिस्पर्धा गरिरहेका रविन्द्रले यदि यो तौल समूहमा उपाधि जित्न सफल भए, उनी विश्वकै प्रतिष्ठित एमएमए प्रतियोगिता युएफसीको मुख्य मञ्चमा स्थान बनाउनेछन्।
हाल नेपाली एमएमए क्षेत्रमा सबैभन्दा चर्चित खेलाडीमध्ये एक मानिएका रविन्द्रले गत वर्ष भारतको ग्रेटर नोइडामा आयोजित मेट्रिक्स फाइट नाइट–१७ मा भारतीय फाइटर चुङरेन कवरेनलाई नकआउट गर्दै उपाधि जितेका थिए।


