नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले फरी विश्वासको मत लिन नपर्ने बताएका छन्। एमाले र राप्रपाका नेताहरुले प्रधानमन्त्रीले दुई दुई महिनामा विश्वासको मत लिने अवस्था त आउने होइन भनेर व्यक्त गरेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
उनले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताए। प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले भने, ‘अहिलेकै गठबन्धनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाएर लैजान्छ । राष्ट्रकासामु रहेका सबै चुनौतीको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्छ ।’ अहिलेको दिन आउनसक्ने परिस्थितिको पहिले नै आँकलन गरिएको उनको भनाइ थियो।
‘हाम्रो मानसिकता अरुलाई दोष दिनेछ,’ उनले भने, ‘आफनो कमीकमजोरीलाई सुधार नगरेसम्म राजनीतिक सुधारतर्फ जान सक्दैन । यसप्रति सबै नेता र सांसदलाई ध्यानाकर्षण गर्न चाहन्छु ।’


