काठमाडौँ: नेपाली राष्ट्रिय महिला फुटबल टोलीको साफ च्याम्पियन बन्ने सपनामा यसपटक बंगलादेश बाधक बनेको छ। भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा बुधबार भएको सेमिफाइनल भिडन्तमा नेपाल साविक विजेता बंगलादेशसँग २-१ गोल अन्तरले स्तब्ध भयो। पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशसँगै हारेको नेपालका लागि यसपटक सेमिफाइनलको नतिजा झनै निराशाजनक रह्यो।
योसँगै नेपाली टोली १० वर्षपछि पहिलो पटक प्रतियोगिताको अन्तिम चारबाटै बाहिरिएको छ। यसअघि सन् २०१६ मा भारतसँग पराजित हुँदै नेपाल सेमिफाइनलबाट घर फर्किएको थियो। ६ पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेपालका लागि यो हारले अर्को एउटा पीडादायी इतिहास थपेको छ।
खेलको २३औँ मिनेटमा डिफेन्डर गीता रानाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। दीपा शाहीको कर्नरलाई सदुपयोग गर्दै गीताले बललाई पोस्टको दिशा दिएकी थिइन्। तर, नेपालले यो अग्रतालाई पहिलो हाफसम्म पनि टिकाउन सकेन। पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशकी रितु पूर्णा चक्माले कर्नरबाट सिधै गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो।
दोस्रो हाफमा दुवै टोलीले गोलका थुप्रै अवसर सिर्जना गरे। नेपालका तर्फबाट रेखा पौडेल, प्रीति राई र सरु लिम्बूका प्रहारले थप गोल निकाल्न सकेनन्। विशेषगरी ६९औँ मिनेटमा सरु लिम्बूको प्रहार क्रसबारको थोरै माथिबाट बाहिरिँदा नेपाल अग्रता लिनबाट चुक्यो।
खेल अतिरिक्त समयतर्फ धकेलिने सम्भावना बढिरहँदा इन्ज्युरी समयमा बंगलादेशकी सागोरिकाले निर्णायक गोल गरिन्। सागोरिकाको सोही गोलको मद्दतले बंगलादेश लगातार तेस्रो पटक साफको फाइनलमा पुग्न सफल भयो भने नेपाल प्रतियोगिताबाट बिदा भयो।


