काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) कर्मचारी युनियनले बोर्डको वर्तमान व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै संस्थागत सुधार, सुशासन र नेतृत्वको जवाफदेहिताका लागि सार्वजनिक रूपमा ध्यानाकर्षण गराएको छ।
बोर्ड स्थापनाको ३३ औं वार्षिकोत्सवको अवसरमा जारी प्रेस विज्ञप्तिमार्फत युनियनले विगतका वर्षहरूमा कर्मचारी, सरोकारवाला र लगानीकर्ताको सहभागितामा विभिन्न कार्यक्रम आयोजना हुँदै आएको भए पनि यस वर्ष व्यवस्थापनको निर्णयका कारण ती कार्यक्रम प्रभावित भएको जनाएको छ। युनियनले यस्तो निर्णयले कर्मचारीहरूको मनोबल घटाएको दाबी गरेको छ।
विज्ञप्तिमा पछिल्ला वर्षहरूमा बोर्डभित्र प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व कमजोर बन्दै गएको आरोप लगाइएको छ। नियामक निकायको रूपमा पूँजी बजारलाई पारदर्शी, व्यवस्थित र गतिशील बनाउने जिम्मेवारी भए पनि नेतृत्वको निर्णय क्षमता र कार्यशैलीका कारण संस्था अपेक्षित रूपमा अघि बढ्न नसकेको युनियनको भनाइ छ।
युनियनले पूँजी बजार सुधार, नीतिगत स्पष्टता तथा दीर्घकालीन रणनीतिक मार्गचित्र ९स्ट्राटेजिक रोडम्याप० कार्यान्वयनमा समेत ढिलाइ भइरहेको उल्लेख गरेको छ। संस्थाभित्र सकारात्मक कार्यसंस्कृति निर्माण र सुशासन कायम गर्न व्यवस्थापनले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप पनि विज्ञप्तिमा गरिएको छ।
कर्मचारी युनियनले वर्तमान नेतृत्वलाई आफ्नो पदीय जिम्मेवारी र जवाफदेहिता निर्वाह गर्न आग्रह गर्दै संस्थागत हित, कर्मचारी अधिकार तथा पूँजी बजारको विकाससँग सम्बन्धित निर्णयहरू पारदर्शी ढंगले सार्वजनिक गर्न माग गरेको छ।
यस्तै, बोर्डको पूर्णकालीन अध्यक्ष पद लामो समयदेखि रिक्त रहेको विषयप्रति पनि युनियनले चासो व्यक्त गरेको छ। रिक्त अध्यक्ष पदमा शीघ्र नियुक्ति गरी पूँजी बजारलाई आवश्यक नेतृत्व प्रदान गर्न नेपाल सरकारसमक्ष आग्रह गरिएको छ।
युनियनका अध्यक्ष राजु बहादुर जीसी र सचिव अशोककुमार बिष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा संस्थाको प्रतिष्ठा, कर्मचारीको मनोबल र पूँजी बजारको विकासलाई केन्द्रमा राखेर आवश्यक सुधारका कदम चाल्नुपर्नेमा जोड दिइएको छ।



