काठमाडौं। सेवा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी ६.२१ प्रतिशत बढेको छ। गत पुससम्म बैंक तथा वित्तीय संस्थाहरुले ३५ खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ सेवा क्षेत्रमा लगानी गरेका छन्।
गत वर्षको सोही अवधिमा यस्तो कर्जा १८.१६ प्रतिशत बढेर ३३ खर्ब ६७ अर्ब ५८ करोड रुपैयाँ थियो।
कूल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश २०८२ पुस मसान्तमा ६१.९८ प्रतिशत रहेको छ। सेवा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये उपभोग्य कर्जा उपक्षेत्रमा सबैभन्दा बढी ३१.७० र सबैभन्दा कम स्वास्थ्य र अन्य सामाजिक कार्य सम्बन्धी उपक्षेत्रमा २.११ प्रतिशत कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जामध्ये सबैभन्दा बढी ५६.३६ प्रतिशत कर्जा बागमती प्रदेशमा प्रवाह भएको छ। सबैभन्दा कम १.५१ प्रतिशत कर्जा कर्णाली प्रदेशमा प्रवाह भएको छ।
बैंक तथा वित्तीय संस्था, अस्पताल, रियलस्टेट,यातायात, होटल तथा पर्यटन, सूचना प्रविधिलगायत क्षेत्र सेवामा पर्छन्।
होटलहरूको औसत क्षमता उपयोग (अकुपेन्सी रेट) ३५.८३ प्रतिशत रहेको छ। २०८१ साउनदेखि पुस मसान्तसम्ममा यस्तो क्षमता उपयोग औसतमा ४०.२१ प्रतिशत थियो। समीक्षा अवधिमा बागमती प्रदेशका होटलहरूको औसत क्षमता उपयोग सबैभन्दा धेरै ५१.१५ प्रतिशत रहेको छ। सबैभन्दा कम कर्णाली प्रदेशको अकुपेन्सी रेट १५.२३ प्रतिशत रहेको छ।
यस्ता छन सेवा क्षेत्रका चुनौती
गुणस्तरीय र भरपर्दो यातायात सेवाको विकास गर्नु, पूर्वाधार, शिक्षा, व्यवस्थापनलगायतका क्षेत्रको गुणस्तरमा सुधार ल्याई सार्वजनिक विद्यालय/क्याम्पसलाई निजी सरह प्रतिस्पर्धात्मक बनाउनु चुनौतीपूर्ण रहेको छ।
तुलनात्मक रूपमा बढी उत्पादनशील र रोजगारी सिर्जना हुने क्षेत्रमा वित्तीय स्रोत प्रवाह गर्नु, न्यून ब्याजदरका बावजुद अपेक्षित रूपमा कर्जा प्रवाह बढ्न नसक्नु, उत्पादन तथा व्यावसायिक गतिविधि अपेक्षित रूपमा विस्तार नहुँदा बंैक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जाको असुलीमा समस्या देखिनु सेवा क्षेत्रका चुनौती रहेका छन्।
साथै, आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि गरी बसाई अवधि लम्ब्याउनु, डाक्टर, नर्स, दक्ष जनशक्तिको विदेश पलायनसमेत चुनौतीका रूपमा रहेका छन्।


