आम जनता पार्टीका अध्यक्ष प्रमु साहले एमालेले सभामुख पाउँदा ठिक र कांग्रेसले राष्ट्रपति पाउँदा बेठिक भन्ने नहुने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्दै राखेको प्रस्ताव माथि छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
साहले नेकपा एमालेले सत्तास्वार्थको राजनीति गरेको आरोप समेत लगाए। आफूले राष्ट्रपति नपाउँदैमा एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत फिर्ता लिनु निषेधको राजनीति भएको उनको तर्क थियो।
‘एमालेले निषेधको राजनीति गरेको छ। आफूले सभामुख पाउँदा सबै ठिक, आफूले राष्ट्रपति नपाउँदै सबै बेठिक भन्ने हुँदैन,’ उनले भने, ‘एमाले साँच्चै निष्ठाको राजनीति गर्छ भने एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा उसले पाएका पदहरू पनि फिर्ता गरोस्।’ साहले भने।
उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने आफ्नो पार्टीले निर्णय गरेको बताए।


