काठमाडौँ: संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई अन्तिम रूप दिने तयारी गरेको छ। विनियोजन विधेयकमाथि विगत केही दिनदेखि जारी छलफलपछि सरकार पक्षका मन्त्रीहरू संसद्मा उपस्थित भई सांसदहरूले उठाएका जिज्ञासा तथा आलोचनाको जवाफ दिने कार्यक्रम तय गरिएको छ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। कार्यसूचीअनुसार शिक्षा, खेलकुद, विज्ञान तथा प्रविधि, कानुन, गृह, पूर्वाधार, ऊर्जा, परराष्ट्र र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले प्रस्तुत गर्नेछन्।
प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सामान्यतया: विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था रहेको छ। जसअनुसार रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको छलफलमा उठेको प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्नेछ।
रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा क्षेत्रसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमाथि व्यक्त धारणा र प्रश्नहरूको स्पष्टीकरण दिनुपर्नेछ।
छलफलको समापनपछि विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमा सांसदहरूले दर्ता गराएका खर्च घटाउने प्रस्तावहरू निर्णयका लागि सभामा प्रस्तुत गरिनेछन्। यस्ता प्रस्तावको संख्या २० रहेको छ।
खर्च कटौतीसम्बन्धी प्रस्तावमाथिको निर्णय प्रक्रिया टुंगिएपछि विनियोजन विधेयकका दफाहरू क्रमशः अनुमोदनका लागि पेश गरिनेछ। त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको कानुनी आधार तयार गर्ने विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्ने कार्यसूची रहेको छ।


