काठमाडौँ: जनमत पार्टीका अध्यक्ष डा सीके राउतले प्रधानमन्त्री वालेन्द्र शाहको प्रशंसा गरेका छन्। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले प्रधानमन्त्री शाको स्टाइल र काम गर्ने शैलीको प्रशंगा गरेका हुन्।
उनले मधेशी नागरिक पहिलोपटक प्रधानमन्त्री बनाएको भन्दै रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद भन्दै उनले भने, ‘हमारा प्रधानमन्त्री अलग लेभलका बंदा है।’
उनले भने–
सबभन्दा पहिले आयोजक समितिलाई पनि धन्यवाद दिन चाहन्छु कि उहाँले यस ऐतिहासिक समारोहमा मलाई सम्झिने चेष्टा गर्नुभएको छ। म संसदीय राजनीतिबाट सन्यास लिइसकेको मान्छेलाई पनि यहाँले सम्झिनुभयो, त्यसको लागि म हृदयदेखि पहिले धन्यवाद दिन चाहन्छु।
र यस अवसरमा नेपालमा लोकतन्त्र संस्थागत गर्न, गणतन्त्र संस्थागत गर्न, मधेश आन्दोलन, लोकतान्त्रिक आन्दोलन, गणतान्त्रिक आन्दोलन, जनजाति आन्दोलनमा शहादत भएका सम्पूर्ण शहीदहरु प्रति पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु।
आज यो कार्यक्रम यहाँ चितवनमा भइराख्दा देशभरिबाट नै ७७ जिल्लाबाट नै यहाँ आउनुभएको छ। मेचीदेखि महाकाली सम्म, ताप्लेजुङ्गदेखि हुम्ला-जुम्ला सम्मका साथीहरु यहाँ आउनुभएको छ। र त्यो आइराख्दा खेरि कति साथीहरु ऋण काढेर पनि आउनुभएको होला, कति साथीहरु अहिले भोकै पनि हुनुहुन्छ होला, कति साथीहरु अरुको गाडीमा सवार भएर आउनुभएको छ होला।
र किन आउनुभएको छ होला भन्दा खेरि यहाँ कुनै पद र प्रतिष्ठाको विषय होइन। तपाईंभित्र एउटा जुनुन छ, यो देश बनाउने अठोट छ, देशमा केही समृद्धि आओस् भन्ने चाहना छ, त्यसको लागि तपाईंहरु यहाँ आउनुभएको हो। तपाईंहरु यहाँ कुनै पद र प्रतिष्ठाको लागि आउनुभएको होइन। तपाईंभित्र एउटा उत्कट चाहना छ कि देश कसरी बदल्ने र त्यही चाहना मभित्र भएको हुनाले पनि म शुभकामना दिन तपाईंकहाँ उपस्थित भएको छु।
जुन सपना तपाईंले देख्नुभएको छ, त्यही सपना मैले पनि देखेको हुनाले आज शुभकामना दिन यहाँ उपस्थित भएको छु। म यहाँ कुनै प्रतिस्पर्धीको रुपमा होइन, एउटा शुभचिन्तकको रुपमा उपस्थित भएको छु। त्यसैले म पनि ६ घण्टा लगाएर काठमाडौंबाट यहाँ सम्म उपस्थित भएको छु यहाँहरुलाई शुभकामना दिनका लागि। किनकि यो एउटा ऐतिहासिक परिघटना हो। यो केवल महाधिवेशन मात्रै होइन, यो क्रान्तिको महोत्सव हो।
र तपाईंहरु जसरी युवा अवस्थामै लाग्नुभएको छ, म पनि तपाईं जस्तै सपना देख्ने मान्छे थिएँ। चाहे पुल्चोक क्याम्पसमा पढ्दा खेरि होस्, ठूला-ठूला ड्रइङ्ग पेपरमा देश कसरी विकास गर्ने भनेर सपना बुन्थेँ। जापानमा रहँदा होस् कि क्याम्ब्रिज युनिभर्सिटीमा रहँदा होस्, ल्यापटप माथि मैले यो टाउको निधार राखेर देशको लागि रोएको मान्छे हुँ। त्यो सपना तपाईंहरु साटासाट गर्न, त्यो ऊर्जा कसरी मिलाउन सकिन्छ यो देश विकासको लागि, त्यसको लागि यहाँ म उपस्थित भएको छु र यहाँहरुलाई धन्यवाद दिन चाहन्छु।
र हामीले सपना मात्रै देखेनौं, एक भन्दा एक आन्दोलन पनि गर्यौं। किसान आन्दोलन गर्यौं, विभिन्न कन्सेप्टहरु ल्यायौं। ‘राइट टु रिकल’को कन्सेप्ट ल्यायौं, ‘नो भोट’को कन्सेप्ट ल्यायौं। देशलाई परिवर्तन गर्नुपर्छ भन्ने नौलो गणतन्त्रको अभियान पनि ल्यायौं। तर जनताले सबै कुरा सबैलाई पत्याइदिने सौभाग्य पाउँदैनन्। त्यो सौभाग्य आज तपाईंले पाउनुभएको छ, त्यसैले यो देश विकासको लागि अगाडि बढ्नुस् भनेर म शुभकामना दिन यहाँ उपस्थित भएको छु।
र जतिबेला तपाईंहरु मध्ये धेरै जना भदौ २३-२४ को आन्दोलन गर्दै हुनुहुन्थ्यो, म दुर्भाग्यले म विदेशमा थिएँ, बाहिर थिएँ तीर्थयात्रामा थिएँ। तर म फर्केर आउने बित्तिकै विभिन्न जेन्जी शहीदका घाइतेहरुलाई, जेन्जी आन्दोलनका घाइतेहरुलाई भेट्नको लागि हस्पिटल पुगें। र त्यहाँ जुन आँखामा मैले पढें, त्यो भाव तपाईंहरु पनि कहिल्यै नबिर्सिनुहोला भनेर सम्झाउनको लागि पनि म यहाँ उपस्थित भएको छु।
त्यसैले तपाईंहरु जुन आन्दोलनबाट उदय हुनुभएको छ, यो जनआस्था प्राप्त गर्नुभएको छ, विश्वास प्राप्त गर्नुभएको छ, त्यो शहीदहरुको आँखाको सपना कहिल्यै पनि नबिर्सिनुहोला भन्ने म यहाँबाट भन्न पनि चाहन्छु। त्यसैले हाम्रो पार्टी फरक होला, केही छैन। हामी भन्छौं नि— ‘हो कहीँ भी आग मगर आग जल्नी चाहिए।’ त्यस्तै होस्, त्यो सपना तपाईंकै मार्फत पूरा होस्, त्यसैमा हामी खुसी छौं। र हामी केवल शुभकामना दिनका लागि मात्र उपस्थित भएका छैनौं।


