काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूले भने राष्ट्रिय स्वतन्त्र पार्टी (लाई) गत फागुन २१ गते सम्पन्न संसदीय निर्वाचनमा भोट गरेको बताएका छन्। आइतबारदेखि चितवनमा सुरू रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।
लिङ्देनले यसो भनिरहँदा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह एकअर्कालाई हेरेर मुस्कुराएका थिए।
लिङ्देनले भने, ‘अघि सीके जी भन्दै हुनुहुन्थ्यो, यो तपाईँहरुले पाको भोटमा अब मेरो जनमत पार्टीको पनि भोट छ भन्दै हुनुहुन्थ्यो। तपाईँहरुलाई थाहा छ, प्रधानमन्त्री ज्यूलाई थाहा होला, सभापति ज्यूलाई थाहा होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरुको भोट पनि छ तपाईँहरुलाई। नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर रवि लामिछानेले राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका मान्छेहरू छन्।’
त्यसकारण रास्वपालाई विशिष्ट जिम्मेवारी भएको उनले बताए। समस्या नेतामा हिजोका मात्रै नभएर उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा पनि भएको बताउँदै लिङ्देनले एउटा राष्ट्रिय सहमति निर्माण नगरिकन देशले लिक नपकिडने बताए।
उनले भने–
हामी कुनै समय फरक फरक कित्तामा रहेर एउटै कुरा गरिराखेका थियौँ कि देशमा २०४६ सालको राजनीतिक परिवर्तन पछि चाहे त्यो प्रजातन्त्र भनियोस्, चाहे त्यो लोकतन्त्र भनियोस्, चाहे त्यो गणतन्त्र भनियोस्, केही सीमित राजनीतिक दल र तिनका पनि सीमित नेताहरुले एक प्रकारको लुटतन्त्र मच्चाइराखेका छन् र त्यसबाट देशलाई निकास दिन आवश्यक छ र देशमा एउटा परिवर्तन जरुरी छ भन्ने कुरा हामीले वकालत गरिराखेका थियौँ।
आज आम निर्वाचन मार्फत त्यो परिवर्तनको चाहनालाई संस्थागत गर्ने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा आएको छ। म रवि लामिछाने ज्यू, सम्माननीय प्रधानमन्त्री ज्यू लगायत उहाँको टिमलाई हार्दिक बधाई र जनताको सपना पूरा गर्ने यात्रामा तपाईँहरुलाई सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु।
अहिले इतिहासले एउटा तपाईँहरुलाई यस्तो अवसर दिएको छ कि एउटा पार्टीको हिसाबले कुरा गर्ने हो भने एउटा पार्टीको जीवनमा, व्यक्तिको हिसाबले कुरा गर्ने हो भने एउटा व्यक्तिको जीवनमा यस्तो अवसर कहिल्यै आउँदैन। चुक्यो भने, यो अवसर चुकाउनुभयो भने धोका तपाईँको पार्टीलाई र तपाईँ नेतृत्वलाई मात्र होइन, सिङ्गो देशलाई हुन्छ। त्यसकारण मेरो आग्रह छ यो मौका पारेर कि यो जिम्मेवारी सफलतापूर्वक तपाईँहरु पूरा गर्न सक्नुहोस्।
यसपालिको मत परिणाम हेर्दाखेरि कुन राजनीतिक दर्शनले काम गर्यो, कुन राजनीतिक दलहरुको सङ्गठनले काम गर्यो? एउटा यस्तो चुनाव भयो जहाँ राजनीतिक दलको सङ्गठनले काम गरेन, पैसाले काम गरेन। आज झण्डै दुई तिहाई बहुमत ल्याउने राजनीतिक दलले अहिले पनि ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गरेको छैन। सबै वडामा, सबै गाउँपालिकामा आफ्नो सङ्गठन बनाइसकेको छैन, तर जनताले उसलाई झण्डै दुई तिहाईको बहुमत दियो। भने आज जनता राजनीतिक दलहरुभन्दा, राजनीतिक दर्शन र सङ्गठनको सीमाभन्दा अरु एक कदम पर अगाडि सरेर निर्णय गर्न अग्रसर भएको छ। र यो जनताको विश्वासलाई निराशामा परिणत हुन नदिनुहोस् भन्ने मेरो शुभकामना छ।
अघि सीके जी भन्दै हुनुहुन्थ्यो, यो तपाईँहरुले पाको भोटमा अब मेरो जनमत पार्टीको पनि भोट छ भन्दै हुनुहुन्थ्यो। तपाईँहरुलाई थाहा छ, प्रधानमन्त्री ज्यूलाई थाहा होला, सभापति ज्यूलाई थाहा होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरुको भोट पनि छ तपाईँहरुलाई। नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर रवि लामिछानेले राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका मान्छेहरु छन्।
त्यसकारण तपाईँहरुको विशिष्ट जिम्मेवारी छ। तपाईँहरुले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ। समस्या हामीले देखेका हिजोका नेताहरुमा मात्रै होइन, हामीले बारम्बार भनेका छौँ— समस्या हिजोका नेताहरुमा पनि थियो, त्यसैले जनताले उनीहरुलाई बढारे। तर समस्या नेतामा मात्र होइन, उनीहरुले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा पनि छ। त्यसकारण यो संविधानमा परिवर्तन र सुधार नगरिकन, देशमा एउटा राष्ट्रिय सहमति निर्माण नगरिकन देशले लिक पकडिँदैन।
त्यसकारण एउटा ऐतिहासिक जिम्मेवारी र ऐतिहासिक अवसर तपाईँहरुले प्राप्त गर्नुभएको छ। यो अवसरको सदुपयोग होस्। हिजो अरुले निषेध गरे, हिजो अरुले ठिक लगाए, त्यसकारण हामी पनि ठिक लगाएर जानुपर्छ भन्ने बाटोमा गइयो भने, फेरि त्यही बाटो पकडियो भने हामीले त्यही दुर्दशा भोग्नुपर्छ र जनताले फेरि निराश हुनुपर्छ। त्यसकारण हामीले निषेधको राजनीति होइन, एउटा सहमतिको राजनीतिबाट देशलाई अगाडि लैजान सकौँ।
समयले तपाईँहरुलाई यो अवसर दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव सकारात्मक प्रतिपक्षको हिसाबले तपाईँहरुका राम्रा कामहरुमा सदैव साथ दिन्छ, तपाईँहरुको शुभेच्छुकको रुपमा रहन्छ, हाम्रो सदैव साथ रहन्छ। र गलत कुराहरु भए भने हामी खबरदारी गर्छौँ। हामी तपाईँहरु प्रति औँला पनि ठड्याउँछौँ। त्यसकारण म तपाईँहरु सबैलाई र खासगरी नेतृत्व तहलाई आग्रह गर्छु, आग्रह गर्छु कि यो मौकाको सदुपयोग गर्नुहोस्। यो अधिवेशनको पूर्ण सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्दछु।


