२०८३ कार्तिक १२ गते बुधबार

बालेन–रविको पुस्ताले ३० वर्ष यो देशको नेतृत्व गर्नुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई [पूर्णपाठ]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ७
photo_53259269 (1)

काठमाडौँ: पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रवि लामिछाने र बालेन शाहले अझै ३०औँ वर्ष देशको नेतृत्व गर्नुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘बालेनजी ३६ वर्षको हुनुहुन्छ, रविजी ५० को आसपास हुनुहुन्छ भने उहाँहरुले आगामी १५-२०-३० वर्ष यो देशको नेतृत्व गर्नुपर्छ।’

उनको सम्बोधनको पूर्णपाठ

म अस्ति असार ४ गते मात्रै ७१ वर्ष पुगेर ७२ वर्ष लागें। तर आज तपाईंहरुलाई देख्दा र यो मञ्चमा सबै म भन्दा उमेरले धेरै पछिका साथीहरु देख्दा म आफैं ७२ होइन २७ वर्षको हुँ कि जस्तो मलाई अनुभूति भएको छ। तपाईंहरुलाई थाहा छ, म आफूलाई एउटा निरन्तर विद्रोहीको रुपमा चित्रित गर्न चाहन्छु र मेरो सारा जीवन मैले त्यसैमा सुम्पिएको छु।

तपाईंहरु यो समकालीन नेपालका सबभन्दा पपुलर व्यक्तित्व रवि लामिछाने र बालेन्द्र शाह ज्यूका कुरा सुन्न आतुर हुनुहुन्छ। त्यसैले मेरो सबै समय उहाँलाई दिने गरी मैले के मात्रै भन्न खोजें भने— यो जुन रास्वपाले ४ वर्षभित्रै जुन यो उपलब्धि हासिल गर्यो, आन्दोलन गरेर संघर्ष गरेर भन्दा पनि जनताको मन जितेर, आधुनिक विज्ञान र प्रविधि मार्फत आफ्ना विचार सम्प्रेषण गरेर जसरी तपाईंहरुले यो ऐतिहासिक सफलता हासिल गर्नुभएको छ, यसलाई नेपाली इतिहासको नयाँ एउटा क्रान्तिको कडीको रुपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ।

मेरा पुस्ताका साथीहरुलाई ठूलो भ्रम छ। उहाँहरु खाली यो कन्स्पिरेसी थ्योरी (षड्यन्त्रको सिद्धान्त) उल्लेख गरेर— यो दक्षिणले गरायो, उत्तरले गरायो, पश्चिमले गरायो भन्ने कथा बुनिराख्नुभएको छ। तर मेरो स्पष्ट धारणा के छ भने, समाज बदल्न हिँड्नेहरु ज्वारभाटाको विरुद्ध, टाइडको विरुद्धमा लाग्छन् उनीहरु भन्नेले भनिराख्छन्, तर सत्य र न्यायको पक्षमा उभिइराख्नु पर्छ। र तपाईंहरु उभिनुहुनेछ।

र यो म आफैंले गत १०-११ वर्षदेखि जुन नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरें, अहिले म यो रास्वपालाई त्यही अभियानकै सबभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा ग्रहण गरेको छु। त्यसो भन्दा कतिपय साथीहरु हाम्रो समाज अत्यन्तै न्यून चेतनास्तरको छ— ‘के पाउनु भो, के ललीपप देखाइदियो?’ म सारा जीवन मर्न हिँडेको मान्छे के ललीपप खाने भन्नुस् त? सबै थोक प्राप्त गरेको मान्छे, तपाईंहरुको सद्भावले प्रधानमन्त्री भइसकेको मान्छे, अनि मैले के ललीपप खाने यो उमेरमा? म त ललीपप होइन, तपाईंहरु साच्चै सबैलाई सुशासन र समृद्धिको यस्तो एउटा फल सबै नेपालीलाई, तपाईंहरुलाई र तपाईं पछिल्लो पुस्तालाई प्राप्त होस्।

त्यसको निम्ति मेरो पुस्ताले, म भन्दा अगाडिको बीपी-पुष्पलालहरुको पुस्ताले र त्यो भन्दा अगाडि देश बनाउन पृथ्वीनारायण शाहको पुस्ताले जुन योगदान गर्यो, त्यसैको पछिल्लो कडी वैकल्पिक र नयाँ राजनीति हो। र त्यसको अगुवा शक्तिको रुपमा रास्वपा जुन आएको छ, यसको निम्ति म उहाँहरुलाई बधाई दिन चाहन्छु।

र मेरा खाली दुई-तीनवटा मात्रै तपाईंहरुलाई केही सुझाव हो भने: एउटा, यो क्रान्ति भनेको निरन्तर परिवर्तन भनेको एउटा ‘रिले रेस’ हो। एउटा पुस्ताले एउटा बिन्दुसम्म पुर्याउँछ, अर्को पुस्ताले त्यो भन्दा अगाडि पुर्याउँछ र अर्को पुस्ताले झन् अगाडि पुर्याउँछ। त्यस अर्थमा लोकतान्त्रिक आन्दोलनको इतिहासमा पहिलो पुस्ता टंकप्रसाद आचार्य, बीपी, पुष्पलालहरुले जुन सुरुवात गर्नुभयो, र हाम्रो पुस्ता (दोस्रो पुस्ता) ले गणतन्त्र र संविधानसभा सम्म पुर्यायो। र अब तपाईंहरुको यो नयाँ पुस्ताले, हाम्रो रविजी र बालेनजीहरुको पुस्ताले नेपालको यो जुन हाम्रो सुन्दर स्वाधीन देश छ, यसलाई सुशासन र समृद्धिको एउटा चुचुरोमा पुर्याओस्, विश्वको नमुना बनाओस्। त्यस अर्थमा म तपाईंहरुलाई विशेष शुभकामना दिन चाहन्छु।

र एक-दुईवटा कुरा अलिकति के सचेत हुन जरुरी छ भने, नेपालको जुन एउटा जटिल भू-राजनीति छ, देशको हिमाल, पहाड, तराई-मधेसको जुन विविधता छ, हाम्रा राज्यका अंगहरु भ्रष्टाचारले जर्जर छन्, त्यसको बीचमा हामीले कसरी सुशासन र समृद्धि ल्याउने भन्ने अहम प्रश्न छ। त्यसको निम्ति जनताले तपाईंहरुलाई मत दिएकै त्यसको निम्ति हो।

अरुले जतिसुकै भनुन्, अरुका कुरा सुन्नुस्, तर मलाई तपाईंहरुको चुनाव ताका पनि सुनें— ‘चुपचाप घण्टीमा छाप’ भन्ने तपाईंको नारा निकै पपुलर भएको सुनिन्थ्यो। अब सायद, अब तपाईंले त्यो नारालाई अब सत्तामा पुगिसकेको नाताले अब ‘चुपचाप सुशासन र विकास’ भनेर तपाईंले अपग्रेड गर्नुपर्छ भन्ने मलाई लाग्छ।

र म अन्त्यमा, केही मेरा निजी सुझाव के हो भने— यो महाधिवेशन भनेको विचार, नीति, कार्यक्रमलाई प्रष्टता दिने, पाँच वर्ष सम्मको निम्ति तय गर्ने र नेतृत्व चयन गर्ने पनि स्थान हो। नेतृत्वमा त मेरो पनि अनुमान नै हो— रविजी, बालेनजी अरुहरुको सर्वसम्मत हुन्छ भन्ने मैले पनि अनुमान गरेको छु।

म यहाँ बस्नुभएका साथीहरुलाई चिन्दछु, म खुसी छु। जो मन्त्रिपरिषद्मा हुनुहुन्छ— स्वर्णिम वाग्ले जी, शिशिर खनाल जी, सुमना श्रेष्ठ जी लगायत जो मन्त्रीजीहरु हुनुहुन्छ… कमि कमजोरी अलिअलि हुन सक्छन्, तर मूल रुपमा छोटो अवधिमा जुन एउटा झिल्को देखाइरहनुभएको छ, मलाई लाग्छ उहाँहरुले आगामी दिनमा नेतृत्वदायी भूमिका खेल्न सक्नुहुन्छ। मेरो जिल्लाकै मित्र सुदुन गुरुङ जीले जुन एउटा आँट देखाइरहनुभएको छ, उहाँहरुलाई जुन प्रकारको तानेर उत्तेजित पार्ने प्रयास भइरहेको छ, त्यसबाट उत्तेजित नभईकन अगाडि बढ्नुस्।

र मेरो एउटा मात्रै अनुभवजन्य आधार के हो भने, खासगरी रविजी र बालेनजीहरुलाई— नेतृत्व भनेको असाध्यै महत्वपूर्ण हुन्छ। वैचारिक रुपमा प्रष्टता त चाहिन्छ नै, मुख्य कुरा त्यही हो। तपाईंहरुको अहिलेको विधानको केही कुरा बाहिर आएको छ, केही अस्पष्टताहरु छन्। विशेषगरी तपाईंले ‘संवैधानिक समाजवाद’ जुन भन्नुभएको छ, त्यो के हो अलि व्याख्या गरिदिए राम्रो हुन्थ्यो।

नेतृत्व, यो तपाईंले यति ठूलो जनमत प्राप्त गर्नुभएको छ, यसले पूरा ५ वर्ष कार्यकाल पूरा गर्नुपर्छ। र म त चाहन्छु १०-१५ वर्षसम्म राजनीतिक स्थिरता पाओस्। त्यसको निम्ति के कुरा हुन्छ भने— हामी त मान्छे हौं, हामीभित्र स्वार्थी लोभीपन अलिअलि हुन्छ पनि। अनि अरु आसेपासे र बाह्य विभिन्न भित्रका शक्तिहरुले पनि खेलेर ‘को भन्दा को ठूलो? रवि ठूलो कि बालेन ठूलो?’ भनेर त्यहाँ खेलिदिन सक्ने खतरा म देख्दछु। तपाईंहरुको एकतामा नै यसको, रास्वपाको तत्कालको ५ वर्षको निम्ति भविष्य सुनिश्चित छ। ५ वर्ष सम्म एक भएर तपाईंहरु काम गर्नुहोस् र अगाडि बढ्नुस्।

र अन्त्यमा, अकबर-बिरबलको पालाको एउटा कथा भनेर म आफ्नो कुरा टुङ्ग्याउँछु। तपाईंलाई थाहा छ, बादशाह अकबर सबभन्दा ठूलो साम्राज्यका बादशाह थिए। उनको ठूला मुठा जुँगा थिए। एकदिन उनले भाइ-भारदारलाई बोलाएर भनेछन्— ‘मेरो यो जुँगा उखेल्नेलाई के सजाय दिउँ?’ भारदारहरुले भनेछन्— ‘त्यसलाई तातो कराईमा राखेर मार्नुपर्छ’, कसैले भने ‘खाडलमा पुर्नुपर्छ’। तर बिरबल एउटा छेउमा बसेर मुसुमुसु हाँसिराखेका रहेछन्। अकबरले सोधे— ‘बिरबल तिमी किन हाँसेको?’ बिरबलले भनेछन्— ‘जहाँपनाह, तपाईंको जुँगा तान्ने मान्छेलाई मिठाई खान दिनुहोस्।’ अकबर जंगिए— ‘मेरो जुँगा तान्नेलाई मिठाई?’ बिरबलले भने— ‘जहाँपनाह, हजुरको यत्रो सुरक्षाभित्र पसेर जुँगा तान्ने हिम्मत कसको हुन्छ? त्यो त तपाईंको काखमा बसेर खेल्ने तपाईंको नाति नै हो।’

त्यसैले मेरा पुराना साथीहरुलाई पनि आग्रह छ— तपाईं हाम्रा जुँगा मेरा पनि अलिअलि उखेल्छन् साथीहरुले कहिलेकाहीँ। बालेनजी ३६ वर्षको हुनुहुन्छ, रविजी ५० को आसपास हुनुहुन्छ भने उहाँहरुले आगामी १५-२०-३० वर्ष यो देशको नेतृत्व गर्नुपर्छ। त्यसैले हामीले उहाँहरुलाई तान्ने होइन, उहाँहरुले हामीलाई मिठाई खुवाएर, मेरो तपाईंहरुलाई यही शुभकामना छ।

प्रकाशित: २०८३ असार ७ गते आईतबार ०६:०१
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना