२०८३ कार्तिक १२ गते बुधबार

बालेनजी स्ट्राइकर, म बल पास गर्ने खेलाडी: रवि [पूर्णपाठ]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ७
photo-2_b6d24238

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको राजनीति र शासन व्यवस्थालाई फुटबल खेलको रोचक रूपक दिँदै प्रधानमन्त्री वालेन्द्र शाह मुख्य गोलकर्ता भएको बताएका छन् छन्। चितवनमा आयोजित पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले देश विकासका लागि बालेनको खुट्टामा बल पुगिसकेको र अब नतिजामुखी गोल हान्ने जिम्मा पनि उनकै भएको उद्घोष गरे।

उनले आफू बालेनलाई सहयोग गर्ने र बल पास गर्ने भूमिकामा रहने भन्दै यो सहकार्यले इतिहासलाई नयाँ जवाफ दिने बताए।

पूर्णपाठ–

यस ऐतिहासिक पहिलो महाधिवेशनमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट रूपमा निलो क्रान्तिको राजधानी चितवनमा हार्दिक स्वागत गर्न चाहन्छु। परिवर्तनको सपना देखेर त्यसलाई साकार पार्ने आँट र साहस मलाई यही चितवनको माटोले दिएको छ। र म बाट हामी बनाउने साहस पनि यही चितवनले दिएको छ। त्यसैले यो देवभूमि चितवनलाई नमन गर्दै फेरि पनि यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु।

उपस्थित आदरणीय महानुभावहरू, रास्वपाको निमन्त्रणालाई स्वीकार गरेर विभिन्न राजनीतिक दलबाट आउनुभएका तमाम नेतागणहरूलाई म स्वागत गर्न चाहन्छु। यहाँहरूको उपस्थितिका लागि धेरै धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु।

उपस्थित आदरणीय महानुभावहरू, हामी आज यहाँ आइपुगेका छौँ। यहाँ आइपुग्दा यो यात्रा यहाँसम्म ल्याउँदा धेरै मानिसको बलिदानी पुगेको छ। धेरै मानिसको बलिदानी चढेको छ। ती बलिदानीले ल्याएका विभिन्न कालखण्डका परिवर्तनले आज हामी साच्चै नै अग्लो देखिएका छौँ। ती तमाम बलिदानीमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने तमाम सहिदहरूलाई सम्झना गर्न चाहन्छु, घाइते साथीहरूलाई सम्झना गर्न चाहन्छु, जो आज शरीरभरी छर्रा बोकेर, घाइते शरीर बोकेर पनि यो देशमा परिवर्तन गरेरै छाड्ने हुटहुटी बोकेर राजनीतिमा लागिरहनुभएको छ, ती सबैलाई एकमुष्ट सम्झना गर्न चाहन्छु।

रास्वपा एउटा यस्तो साझा मञ्च बन्न सकेको छ, जहाँ अहिले अधिकांश गैर-राजनीतिक मानिसहरू आइपुगेका छन्। यो एउटा बाध्यता हो। यो रहर थिएन। हामीले पटक-पटक भन्यौँ तर हाम्रो कुरा सुनिएन। धेरै पटक भन्यौँ सुनिएन। घोषणा गर्दा भन्यौँ सुनिएन। यहाँसम्म कि जेलको कालकोठरीबाट पनि भन्यौँ सुनिएन।

आज चितवनमा गर्मी छ, थोरै गर्मी छ। तर आजभन्दा एक वर्ष अगाडि पार्टी स्थापना दिवस मनाइरहेको थिएँ, तपाईँसँग साक्षात्कार गर्ने मसँग कुनै माध्यम थिएन। भैरहवामा योभन्दा धेरै गर्मी थियो। निकै गर्मी थियो। अरूका लागि जेल एउटा ठुलो कम्पाउन्ड हुन्थ्यो, मेरो लागि एउटा गोल घेरा एउटा कोठा नै जेल बनाएर सरकारले सुविधासँग सुविस्तासँग राखेको थियो।

मैले तपाईँहरूलाई धेरै सम्झेको थिएँ। धेरै सम्झेको थिएँ। म आज तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु कि त्यो आवाज सुनियो। म धेरै त सम्झिन्न, म एउटा लाइन मात्र सम्झन्छु जुन सन्देश मैले गत वर्ष भैरहवा कारागारबाट लेखेको थिएँ। त्यो सन्देशको अन्त्यमा मैले भनेको थिएँ कि एकदिन जनताले तपाईँहरूको हातमा भएको तस्करले दिएको घडी खोस्ने छ र त्यहाँ हतकडी लगाउने छ भनेको कुरा मलाई सम्झना छ।

तर आज परिस्थिति फेरिएको छ, बदलिएको छ। बदलिएको यो परिस्थितिले हामीलाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। आदरणीय उपस्थित महानुभावहरू, शक्तिशाली हुनु भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्नु होइन, प्रतिशोध साँध्ने लाइसेन्स प्राप्त गर्नु होइन, यो मलाई र रास्वपालाई राम्रोसँग थाहा छ।

आज रास्वपा प्रतिशोध र दम्भभन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पुरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, देश सुरक्षित छ। लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो, हामी त्यसको जगेर्ना गर्ने छौँ, त्यसलाई माया गरेर राख्ने छौँ। हामी त्यसबाट बाहिर जाने छैनौँ।

यसअघि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँहरूलाई निर्धक्क हुनका लागि अनुरोध गर्न चाहन्छु। ल रास्वपाले त्यो लाइन क्रस गर्दैन यहाँहरू निर्धक्क भएर यहाँबाट जानुहोला।

यहाँहरूलाई पनि एउटा सानो अनुरोध गर्न चाहन्छु। राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर हुँदैन, राष्ट्रिय राजनीतिमा रहेका सबै दलहरू ठिक हुनुपर्छ। म शुभकामना दिन चाहन्छु, विशेष गरेर दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमाले भित्र कहिँ कतै केही न केही अप्ठ्याराहरू देखिएका छन्। त्यो अप्ठ्यारो त्यो दलको मात्र होइन, त्यो दलको अप्ठ्याराहरू सुल्झिएनन् भने समग्रमा त्यो देशको अप्ठ्यारो पनि बन्न सक्छ। मेरो शुभकामना छ आफ्नो दल भित्रका अप्ठ्याराहरूलाई मिलाउनुहोला। आफ्नो दल मात्र होइन अन्य दलहरूका अप्ठ्यारा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जाने छ र त्यससँगै हामीले साझा प्रतिबद्धता पनि गर्नु छ। यसअघि राजनीतिक दलहरू प्रतिस्पर्धी बने। हामीलाई प्रतिस्पर्धा गर्ने छुट छैन। हाम्रा व्यक्तिगत वैमनस्यताहरू हाम्रा निजी हुनुहुँदैन। त्यो सकिनुपर्छ, कहिले सकिनुपर्छ भने अहिले यहीँबाट सकिनुपर्छ। हामी वैमनस्यता बोकेर बाँच्ने होइन ठुलो हृदय बोकेर अगाडि बढ्ने राजनीतिज्ञ बन्नुपर्ने छ।

हामीले एक अर्कालाई जवाफ दिनु पर्दैन, हामीले इतिहासलाई जवाफ दिनुपर्छ। इतिहासका लागि पनि हामीले हाम्रा वैमनस्यहरूलाई तत्काल त्यागेर सहकार्यको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता परेको छ। किनकि हाम्रा दम्भहरू हुन्, हाम्रा घमण्ड हुन्, हाम्रा अप्ठ्यारा हुन् या हाम्रा कुनै पनि कुराहरू हुन्, ती हाम्रा निजी रहेनन्। देशका रहे, देश हितमा तिनको महत्त्व हुन्छ।

आज यस ऐतिहासिक अवसरमा म रास्वपा परिवारका सबै साथीहरूलाई केही छोटो जानकारी मात्र गराउन चाहन्छु। साथीहरू, मैले जलेश्वर बैठकको बेलामा राजनीतिक प्रतिवेदनमा लेखेको एउटा कुरा स्मरण गराउन चाहन्छु, त्यहाँ लेखिएको दुई वटा कुरा स्मरण गराउन चाहन्छु। पहिलो कुरा मैले भनेको थिएँ लेखेको थिएँ कि रास्वपा लड्यो भने आफ्नै गोडामा अल्झिएर लड्छ, अरू कसैको ताकत छैन रास्वपालाई लडाउने। आज यसलाई अझ बढी सार्थक बनाउने बेला आएको छ।

हो, जब धेरैको मन जित्न सकिँदैन त्यसपछि केहीको मन जितेर राजनीतिमा अगाडि बढ्ने प्रचलन चलेको छ। तर त्यो प्रचलनको बिउ हामीले रोप्न हुँदैन। त्यो बिउ हुर्कियो, बढ्यो, फुल्यो, फल्यो भने के हुन्छ भन्ने कुरा त भर्खरै हामीले देखिसकेका छौँ। त्यसकारणले गुट र उपगुट बनाएर हामीले त्यो बिउलाई रोप्यौँ भने भोलि देशले दिने फल त्यो विषालु फल हुने छ र अघि पार्टीका वरिष्ठ नेताज्युले भन्नुभए जस्तै त्यो फल यदि फल्यो भने हामीले त्यो वृक्ष नै काट्नुपर्ने अवस्थामा हामी पुग्ने छौँ। यतिखेर हामी बेला ठिक समयमा छौँ। हामी ठिक समयमा छौँ साथी हो। हामी कस्तो फल रोप्ने कस्तो बिउ रोप्ने भन्ने बेलामा अडिएका छौँ।

यतिखेर हामीले समग्र रूपमा कुनै गुट र उपगुटमा नलागिकन विगतका राजनीतिक दलहरूका अनुभवलाई हेरेर अगाडि बढ्ने हो भने म फेरि पनि भन्छु रास्वपालाई लडाउने अर्को कुनै पनि शक्ति अबको युगमा आउन सक्दैन म यो तपाईँहरूलाई निर्धक्कका साथ भन्न सक्दछु।

तर साथी हो, कहिलेकाहीँ के हुने रहेछ भने यो त्याग र बलिदानी भनेको अरूले गर्यो भने खुसी मान्ने तर आफैले गर्नुपर्यो भने दुःख मान्ने कुरा हुने रहेछ। यसबाट चाहिँ यहाँहरूलाई म सचेत रहनका लागि अनुरोध गर्न चाहन्छु। र यो ऐतिहासिक महाधिवेशनले हामी बिचमा पनि केही वैमनस्यता रहेछन् भने, हामी बिचमा पनि त्यस्ता समस्या रहेछन् भने त्यसलाई अन्त्य गर्ने एउटा महत्त्वपूर्ण बिन्दु यो बनोस् भन्ने म चाहना राख्दछु।

रास्वपाको दुई तिहाइको सरकार बनेको छ। साथीहरू, पार्टीले यसलाई निगरानी गरिरहेको छ, पार्टी प्रतिबद्ध छ। लोकतन्त्रका आधारभूत मान्यता सिद्धान्तहरूबाट कहिँ कतै पार्टी विचलित हुने छैन, यो प्रतिबद्धता मैले गरिनैसकेको छु। विचार, सिद्धान्त, आदर्श जस्ता महत्त्वपूर्ण कुराहरूलाई अझ बढी स्पष्ट गर्दै जाने एउटा राजनीतिक पार्टीको निरन्तर, निरन्तरको कार्य हो। यसमा रास्वपा खरो उत्रिएको छ।

मैले अघि जलेश्वर बैठकको कुराकानी गरेको थिएँ। जलेश्वर बैठकमा यो कुरा स्पष्ट रूपमा हामीले भनिसकेका थियौँ। तर हाम्रा मामलामा अन्य धेरै विषयहरू चर्चाको विषय बने, अन्य धेरैहरू हल्लाको विषय बने, हाम्रा प्रतिवेदन, हाम्रा राजनीतिक दस्ताबेजलाई हेर्ने समय निकालिएन। मलाई विश्वास छ सिङ्गो देश र संसारले केन्द्रमा राखेको रास्वपाका अबका दस्ताबेजहरू हेरिने छन्, पढिने छन् र तिनलाई हचुवाको भरमा होइन, गहन अध्ययन गरेर त्यसमाथि विद्वत् समूहले विश्लेषण गर्ने छ भन्ने कुरामा म आशावादी छु। म आशावादी छु। म आशावादी छु हाम्रा साथीहरूले स्वस्थ प्रतिस्पर्धा गर्नुहुने छ, स्वच्छ प्रतिस्पर्धा गर्नुहुने छ।

सँगसँगै म आशावादी छु सरकार जुन आशा र भरोसामा उभिएको छ त्यसमा खरो उत्रिने छ। प्रयास त निकै हुने छ। प्रयास त लडाउने, ढलाउने, फाटो ल्याउने प्रयास त निकै हुने छ। म आज यस ऐतिहासिक स्थानमा उभिएर भन्न चाहन्छु, हामीले नेपाली जनतालाई र इतिहासलाई साक्षी राखेर रास्वपामा जुन सहमति गरेका छौँ, त्यो सहमतिको एक-एक अक्षर इमानदारीताका साथ पालना गर्ने प्रण म यहाँहरूलाई उभिएर गर्न चाहन्छु। यो हाम्रो निजी कुरो होइन इतिहासलाई जवाफ दिनुपर्ने छ, व्यक्तिको इच्छा ठुलो कुरो होइन। त्यसकारणले सरकार सञ्चालन गर्नको निमित्त रास्वपाले चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ, अब भट्टाभट गोल हान्ने जिम्मा बालेनजीको। अब भट्टाभट गोल हान्ने जिम्मा प्रधानमन्त्री बालेन शाहज्युको हुने छ र उहाँले त्यसको निरन्तरता दिइरहनुभएको छ। झुक्किएर त्यो बल कहिँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।

किनकि यहाँ मुख मिठ्याउनेहरू धेरै छन्। यहाँ मुख मिठ्याउनेहरू धेरै छन्। चुक्ली लगाइदिनेहरू पनि धेरै छन्। म तिनलाई जवाफ दिन बोलिरहेको छैन साथीहरू म त इतिहासलाई जवाफ दिनका लागि खडा भएर बोलिरहेको छु। किनभने आजको दिन त बितेर जाने छ। भोलि फेरि सन्ततिहरूले सोध्ने छन्, इतिहासले तिमीहरूलाई मौका दिएको थियो, इतिहासले तिमीहरूलाई पहिलो महाधिवेशनभन्दा पनि अगाडि तिमीहरूलाई यति जनमत दिएको थियो कि संसारको कुनै पनि राजनीतिक दललाई महाधिवेशन हुनुभन्दा अगाडि दुई तिहाइको बहुमत दिएको मलाई सम्झना छैन। यस्तो अवसर दिएको थियो।

आज जन्मेकाहरूले मात्र होइन भोलि यस देशमा यस धर्तीमा जन्मेकाहरूले पनि मलाई र बालेनजीलाई प्रश्न गर्ने छन्, यो मौकालाई तिमीहरूले किन गुमाउन दियौ? हामी त्यो प्रश्नलाई, हामी त्यो प्रश्नलाई सदाका लागि बाँच्न चाहन्छौँ इमानदारीताका साथ। यो अवसरलाई हामी सदुपयोग गर्न चाहन्छौँ, हाम्रा लागि होइन आउने सन्ततिका लागि, जन्मिसकेका लागि मात्र होइन जन्मन बाँकी यस देशका नागरिकका लागि पनि।

उपस्थित आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म आफ्नो भनाइ छोट्याउने क्रममा गएको छु। पार्टी जीवनमा समस्याहरू नआउने होइनन् आउँछन्। विभिन्न तहमा समस्याहरू आउँछन्। र हाम्रो पार्टी केवल हाम्रा साथीहरूले मात्र बनेको पार्टी होइन, विभिन्न राजनीतिक दलबाट हामी कहाँ आउनुभएका साथीहरू पनि आउनुभएको छ, हाम्रो परिवार बनेर आउनुभएको छ। यो सबैको सम्मिश्रणले पार्टी बनेको छ। पार्टी भित्र या राजनीतिक दल भित्रको आबद्धता भनेको कुनै पनि राजनीतिक दलमा म आबद्ध हुन्छु भन्नु भनेको तत्कालको लाभका लागि होइन। इतिहासको पाना पल्टाएर हेर्नुस् त। मैले यसभन्दा अगाडिको कुनै एउटा समारोहमा भनेको सम्झना गर्दछु, सम्झिहेर्नुहोस्। आज त रास्वपामा एउटा लहर छाएको छ, सम्भवतः भोलि टिकट पाइन्छ होला, पर्सि पालिकामा जितिन्छ होला, म मेयर हुन्छु होला उपमेयर हुन्छु होला भनेर केही साथीहरू लोभिनुभएको पनि होला लोभ्याइएको पनि होला।

तर कुनै पनि दिन पार्टीले होइन, अब हामीले आठ-दश वर्ष विद्रोह गर्नुपर्ने छ, त्यसका लागि हामी तयार हुनुपर्ने छ भन्यो भने के त्यो त्याग, त्यो बलिदानी र त्यो यात्रामा होमिनका लागि हामी तयार छौँ? हामी तयार छौँ त भन्छौँ, छौँ त भन्छौँ तर आजैबाट टिकट फलानोलाई दिएँ भनेर गुटको राजनीतिमा लाग्यौँ भने इतिहासले हामीलाई धिक्कार्ने छ। त्यसकारणले आफ्नै परिवारलाई म आज यो पहिलो महाधिवेशनमा उभिएर यति भन्न चाहन्छु साथी हो, मलाई केही पनि चाहिएको छैन। मलाई केही पनि चाहिएको छैन। संस्थापक सभापति भएका नाताले भर्खरै सुरु भएको पार्टीमा एउटा सानो पदका लागि चौबाटोमा लडेर हेल्मेटले हानेर एक अर्काको दाँत झार्न गएको दृश्य बाचुन्जेल हेर्न नपरोस् मेरो यति कामना छ। आफूले जन्माएको पार्टी भएको हुनाले कुनै एउटा पदका लागि अस्वस्थ प्रतिस्पर्धा गरेको, सदस्यताहरू जम्मा गर्दै आफू निर्वाचित हुने प्रपञ्च गरेको र षडयन्त्रको राजनीतिको बिउ रोपेको कम्तीमा, कम्तीमा आफू बाचुन्जेल हेर्न नपाए हुन्थ्यो भन्ने कामना म आज ऐतिहासिक महाधिवेशनमा राख्न चाहन्छु।

एउटा कुरा चाहिँ मलाई के थाहा छ भने जसले जिते पनि घण्टीवाहकले जित्छ, जसले जिते पनि रास्वपाले जित्छ। आफ्ना जिताउन होइन जितेका आफ्ना हुन् भन्ने भावना लिएर गयौँ भने हामी विशाल रास्वपा बन्ने छौँ। यो विशाल रास्वपाको पहिलो ऐतिहासिक महाकुम्भमा फेरि पनि म यहाँहरूलाई धेरै-धेरै स्वागत गर्न चाहन्छु। र फेरि पनि विभिन्न राजनीतिक दलबाट आउनुभएका साथीहरूलाई, उहाँहरूले गर्नुभएको त्याग र बलिदानीको सम्मान स्वरूप विगतमा भएका सम्पूर्ण राजनीतिक क्रान्तिहरूको सम्मान राख्ने प्रतिबद्धता व्यक्त गर्दै बदलिँदो व्यवस्था, बदलिएको परिस्थिति सबैमा हाम्रो साझा प्रतिबद्धता भएको कुरा स्पष्ट पार्न चाहन्छु।

अन्त्यमा, पार्टी स्थापना दिवसको दिन मैले यसै गरी दर्शकदीर्घाकै बिचमा रहेकी मेरी धर्मपत्नी अर्धाङ्गिनीलाई भनेको थिएँ, उनले मलाई भनेकी थिइन्, म घर चलाउँछु तिमी देश सम्हाल भनेकी थिइन्। यो चार वर्षको यात्रामा देश चलाउनभन्दा गाह्रो घर चलाएर मेरो संघर्षको हरेक पाइलामा साथ दिएर एकपटक पनि नरोईकन ठाडो शिर लगाएर, एकपटक पनि नझुकीकन मलाई यत्तिका धेरै बल दिएकोमा मैले यो मञ्चबाट धन्यवाद दिनै पर्छ।

साथै मेरो परिवारको एउटा जमघटमा मेरी ६४ वर्षकी वृद्ध मृत्यु शय्याबाट भर्खर फर्किएकी दिदीले भनेको कुरा सम्झना सुनाएर बिदा हुन्छु। जतिखेर ममाथि राज्यले ज्यादती गरेको थियो, त्यतिखेर ओरपरका छरछिमेकीले मेरो वृद्ध दिदीलाई भनेछन्, तिम्रो भाइलाई त मार्छन् क्यारे। मेरी दिदीले छाती पिटेर भनिछन्, मारेछन् भने मेरो भाइ सहिद हुन्छ चिन्ता नगर भनेकी थिइन्। मलाई आँट र साहस दिने मेरो परिवारलाई मैले अलिकति धन्यवाद दिन यो विशिष्ट समारोहको समय लिएर केही गल्ती गरेछु भने क्षमा गर्नुहोला। तर सबै रास्वपाको परिवारलाई म धेरै-धेरै धन्यवाद दिन चाहन्छु, मेरो नेतृत्वमा यो पार्टीलाई यहाँले गर्नुभएको विश्वासले आज यहाँ पुर्याएको छ। पार्टी यहाँ आइपुग्नुको सम्पूर्ण श्रेय तपाईँहरूलाई बाँडेर बाँकी रहेको थोरै श्रेय लिने प्रण गर्दै सबैजनालाई धेरै धेरै धन्यवाद।

प्रकाशित: २०८३ असार ७ गते आईतबार ०६:२९
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना