काठमाडौं। मुलुकको प्रमुख प्रर्यटकीय गन्तव्य र शहरी क्षेत्रमा ठूला लगानीमा धमाधम होटल खुल्ने क्रम बढिरहेको छ। यस्तै पर्यटकीय नगरी पोखराको बेगनासमा लक्जरी रिसोर्ट थपिने भएको छ।
एक अर्ब १५ करोड रुपैयाँ लगानीमा लक्जरी वेलनेस रिसोट सञ्चालन हुने भएको हो। हालसम्म रिसोर्टको ४८ प्रतिशत वित्तीय प्रगति भएको वाटफोर्ड होटल म्यानेजमेन्ट प्रालिले जनाएको छ।
निर्माणाधीन रिसोर्टमा ६४ कोठाहरु हुने भएका छन्। रिसोर्ट आगामी सन् २०२७ को जुन अर्थात एक वर्षपछि सञ्चालनमा ल्याउने योजना रहेको छ।
रिसोर्टमा ६० प्रतिशत बैंकको ऋण र बाँकी ४० प्रतिशत संस्थापकहरुको स्वपँुजी(इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ। रिसोर्टको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ। हालसम्म आठ करोड ८६ लाख ४० हजार रुपैयाँ इक्विटी) लगानी भएको छ।
परियोजनाको ऋण आंशिक व्यवस्थापन भएको छ। ४० करोड रुपैयाँ ऋण पहिले नै स्वीकृत भइसकेको छ। यद्यपि, त्यसलाई अर्को ऋणदातासँग पुनर्वित्त गरी ७० करोड रुपैयाँ बढाउने प्रस्ताव गरिएको छ।
रिसोर्टले हङकङको आर्गिल होटल्स ग्रुपसँग फ्रेन्चाइजी सम्झौताअन्तर्गत सञ्चालन हुने भएको छ। यो विश्वव्यापी रूपमा मान्यता प्राप्त आतिथ्य ब्रान्ड हो।
यसको बुटिक र जीवनशैली गुणहरूको लागि परिचित छ। यो सम्झौता रिसोर्टको ब्रान्ड स्थिति बढाउन, अन्तर्राष्ट्रिय सञ्चालन मापदण्डहरूको पालना सुनिश्चित गर्न र बजार विश्वसनीयता बढाउनको लागि गरिएको कम्पनीले जनाएको छ।
नेपालको आतिथ्य सत्कार (हस्पिटालिटी) उद्योग उच्च प्रतिस्पर्धी छ। यहाँ स्थानीय र अन्तर्राष्ट्रिय ठूला लगानीका तारेहोटलहरु सञ्चालनमा छन्। यसबाहेक, नेपालमा होटलको प्रदर्शन मौसमी छ।
विश्वव्यापी यात्रा प्रवृत्ति, प्राकृतिक प्रकोप र भूराजनीतिक कारणले नेपालको पर्यटन क्षेत्र संवेदनशील छ। रिसोर्ट परियोजनाले पोखराको बेगनासमा रहेको स्थानबाट फाइदा लिने संभावना छ।
जुन अपेक्षाकृत शान्त र कम भीडभाड भएको गन्तव्य हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निकटतासँग मिलेर आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटक दुवैको लागि यात्राको सहजता बढाउँछ। प्राकृतिक आकर्षण र सुधारिएको कनेक्टिभिटीको संयोजनले परियोजनाको माग सम्भावनालाई बलियो बनाउने र यसको बजार स्थितिलाई सुदृढ पार्ने सम्भावना छ।
वार्टफोर्ड म्यानेजमेन्टको स्थापना सन् २०१९ मा र सन् २०२३ मा उद्योग विभागमा दर्ता भएको हो। अन्तर्राष्ट्रिय ब्रान्डको बुटिक वेलनेस रिसोर्ट विकास गर्ने लक्ष्य राखेको छ।
यसले विलासी आतिथ्य सेवालाई समग्र स्वास्थ्य (होलिस्टिक वेलनेस) सम्बन्धी अनुभवहरूसँग संयोजन गर्नेछ। कम्पनीमा ९७ प्रतिशत स्वामित्वसहित दिनेशकुमार कान्था प्रमुख सेयरधनी रहेका छन्।


