काठमाडौँः महिलाको आर्थिक सशक्तीकरण, सुरक्षित बाल हेरचाह तथा समावेशी आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका–८ मा स्थापना गरिएको बाल उद्यान तथा शिशु स्याहार केन्द्र शुक्रबार वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ।
हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रवलजंग पाण्डेले उक्त केन्द्र महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीमा सहभागिता बढाउने महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे।
उनले बालबालिकाको सुरक्षित, व्यवस्थित र गुणस्तरीय हेरचाहको व्यवस्था भएपछि महिलाहरू उद्योग, व्यापार, सेवा, स्वरोजगार तथा अन्य आयमूलक गतिविधिमा निर्धक्क रूपमा सहभागी हुन सक्ने बताए।
“यो केन्द्र केवल एउटा भौतिक संरचना मात्र होइन, महिलाको आर्थिक स्वतन्त्रताको ढोका हो। यसले महिलालाई आफ्ना बालबालिकालाई सुरक्षित वातावरणमा राखेर रोजगारी, स्वरोजगार तथा उद्यमशीलतामा सक्रिय हुन सहज बनाउनेछ,” पाण्डेले भने।
पाण्डेका अनुसार नेपालमा महिलासँग पर्याप्त सीप, क्षमता र काम गर्ने इच्छा हुँदाहुँदै पनि बालबालिका, ज्येष्ठ नागरिक तथा घरायसी जिम्मेवारीका कारण उनीहरूको आर्थिक सहभागिता सीमित छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अध्ययनले पनि अवैतनिक हेरचाह कार्यको असमान भार महिलाको आर्थिक सहभागिताको प्रमुख अवरोधका रूपमा औंल्याएको उनले बताए।
उनले महिलाको श्रम सहभागिता बढ्नु सामाजिक न्यायको विषय मात्र नभई दिगो आर्थिक विकासको आधारसमेत भएको उल्लेख गर्दै स्थानीय सरकार, निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्य सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट उदाहरण भएको बताए। महिलाको रोजगारी, उद्यमशीलता तथा नेतृत्व विकासका लागि यस्ता पहललाई थप विस्तार गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले निजी क्षेत्र सधैं सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय सरकारसँगको साझेदारीमा महिला तथा बालबालिकामैत्री कार्यक्रम सञ्चालन हुनु सकारात्मक कदम भएको बताए।
त्यसैगरी, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले बालबालिकाको सुरक्षित हेरचाहका लागि यस्ता केन्द्रको आवश्यकता रहेको धारणा राखे।
आईएलओ मधेश प्रदेशका संयोजक महेन्द्र सहनीले श्रम बजारमा महिलाको सहभागिता अपेक्षाकृत कम रहेको र करिब ४० प्रतिशत महिलाले पारिवारिक तथा सामाजिक जिम्मेवारीका कारण रोजगारीमा सहभागी हुन नसकेको अध्ययनले देखाएकाले स्थानीय सरकार र निजी क्षेत्रसँगको सहकार्यमा यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए।
नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलका अनुसार वीरगञ्ज नेपालको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र भएकाले व्यापारिक गतिविधि, घना बस्ती तथा कार्यरत महिलाको उल्लेखनीय उपस्थितिलाई आधार बनाएर वीरगञ्ज महानगरपालिका–८ लाई केन्द्र सञ्चालनका लागि छनोट गरिएको हो।
यस केन्द्रबाट विशेषगरी औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत महिला, दैनिक ज्यालादारी गर्ने महिला, साना व्यवसायी, स्वरोजगार महिला तथा रोजगारीको खोजीमा रहेका महिलाले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ। साथै, उनीहरूका बालबालिकाले सुरक्षित, स्वस्थ, सिकाइमैत्री र स्नेहपूर्ण वातावरणमा गुणस्तरीय हेरचाह सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ।
उक्त बाल उद्यान तथा शिशु स्याहार केन्द्र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपाल, सशक्त महिला, समृद्ध नेपालु परियोजना, नेपाल उद्योग वाणिज्य महासंघ, वीरगञ्ज महानगरपालिका, वडा नं. ८, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, वीरगञ्ज उद्योग वाणिज्य संघ तथा अन्य साझेदार संस्थाहरूको सहकार्यमा स्थापना गरिएको हो।


