काठमाडौँ: जेनजी पुस्ताको आन्दोलनबाट उदाएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एकसय दिन पूरा भएको छ। पुराना राजनीतिक दलहरू भन्दा फरक र पृथक मानिएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारप्रति बहुसंख्यक नेपाली आशावादी छन्।
पैदल यात्रु, चोक–चौतारा, सभा सम्मेलन वा सामान्य जमघटमा सरकारको दैनिक क्रियाकलापबारे चर्चा र बहस भइरहेको छ। सरकारका निर्णयहरूबारे विभिन्न टिकाटिप्पणी र तर्कहरू चलिरहेका छन्। सर्वसाधारणहरूले प्रधानमन्त्री बालेनप्रति ठूलो अपेक्षा राखेको प्रतिक्रिया दिएका छन्।
कतिपयले नयाँ सरकारले परिवर्तनको अपेक्षासहित काम सुरु गरेकाले तत्काल मूल्यांकन गरिहाल्नुपर्ने अवस्था नरहेको बताए। सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदमप्रति उनीहरूको सकरात्मक प्रतिक्रिया थियो। नयाँ सरकारले विगतका सरकारका कमजोरी नदोहो¥याई सुशासन, भ्रष्टाचार नियन्त्रण र जनमुखी कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
काठमाडौं वानेश्वरमा भेटिएका निर्मल पौडेलले सरकारले जनताको हितविपरीत काम नगरी राष्ट्रिय हित, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए।
त्यस्तै, विवेक कुमार राईले सरकारको कामलाई नजिकबाट नियालिरहेको बताएका छन्। उनले ट्राफिक नियममा गरिएको कडाइ र सडक पूर्वाधार क्षेत्रमा भइरहेको सुधारका कामहरू राम्रो लागेको बताए। होम बहादुर चालिसेले नयाँ सरकारको काम राम्रो लागेका बताए। उनले विगतको सरकार भन्दा राम्रो काम गरिरहेको बताए।
उनले मेलम्ची खानेपानी आयोजना राम्रो भएपनि बाढीबाट प्रभावित स्थानीयको समस्या समाधानमा अघिल्ला सरकारले ध्यान नदिएको बताए। बाढीले घर, सडक तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पु¥याउँदा पनि राज्यले उचित राहत र पुनःस्थापनामा चासो नदेखाएको उनको बताए।
वानेश्वर क्षेत्रमै भेटिएका दुर्गाराज चालिसेले नयाँ सरकारले विगतका सरकारका कमजोरी नदोहो¥याई सुशासन, भ्रष्टाचार नियन्त्रण र जनमुखी कामलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले संसद्को बैठक र अधिवेशन समयमै सञ्चालन हुनुपर्नेमा जोड दिँदै सरकारका मन्त्रीहरू सदनप्रति उत्तरदायी हुनुपर्ने धारणा राखे। भ्रष्टाचारमा संलग्न जो–कोहीलाई कानुनी कारबाही गर्नुपर्ने बताए।
एमाले, माओवादी र कांग्रेसजस्ता ठूला दलहरूले गरेका कमजोरी दोहोर्याउन नहुने बताउँदै उनले नयाँ नेतृत्वले फरक शैलीमा काम गर्नुपर्ने बताए। भूमिहीन तथा सुकुम्बासी र हुकुमवासी) नागरिकहरूको समस्या समाधानका लागि सरकारले उपयुक्त व्यवस्थापन गर्नुपर्ने, उनीहरूलाई व्यवस्थित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्ने धारणा पनि उनले व्यक्त गरे।
अर्का, सर्वसाधारण महेश्वर दाहालले नेपाली युवापुस्ताले परिवर्तन खोजिरहेको बताएका छन्। वर्तमान सरकार पनि परिवर्तनको मार्गमा अघि बढिरहेको बताए। विगतका सरकारलाई जनताले लामो समयसम्म परीक्षण गरिसकेको अवस्थामा अहिलेको सरकारलाई सय दिनकै आधारमा निष्कर्षमा पुग्न नहुने बताए।
सरकारले ठूला भ्रष्टाचारका प्रकरणहरूको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउने, राज्यको सम्पत्ति फिर्ता गराउने तथा सुशासन कायम गर्ने कामलाई प्राथमिकता दिनसके त्यसले सरकारको उपलब्धि देखिने बताए। दाहालले राज्यका विभिन्न क्षेत्रमा अझै धेरै सुधार आवश्यक रहेको छ। उनले सरकारले जनताको हितलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए।
काठमाडौं वानेश्वरमै भेटिएकी विद्यार्थी स्नेहा शाहले प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेदेखि नै सक्रिय रूपमा काम सुरु गरेको प्रतिक्रिया दिइन्। उनले प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेको सुरुदेखि नै विभिन्न क्षेत्रमा काम अघि बढाएको बताइन्।
‘उहाँले गर्नुभएको काम मलाई एकदमै राम्रो लागेको छ। प्रधानमन्त्री भएको दिनदेखि नै उहाँले काम सुरु गर्नुभएको थियो। देशप्रति ध्यान दिएर काम गरिरहनुभएको छ र आगामी दिनमा अझ राम्रो गर्नुहुन्छ भन्ने आशा छ,’ उनले भनिन्, ‘खोला किनारामा अवैध रूपमा बसेकाहरूको व्यवस्थापन गर्ने काम पनि राम्रो लाग्यो। विद्यार्थीको हिसाबले शिक्षा क्षेत्रमा ल्याइएका परिवर्तनहरू सकारात्मक लागेका छन्। सरकारले शिक्षामा अझ बढी ध्यान दिए हाम्रो भविष्य र देश दुवैका लागि राम्रो हुन्छ।’
त्यस्तै, काजी बहादुर घिमिरेले नयाँ सरकारप्रति सुरुमा ठूलो आशा र अपेक्षा रहेको स्मरण गराउँदै पछिल्ला केही गतिविधिले जनताविरुद्ध काम हुन थालेको हो कि भन्ने आशंका उत्पन्न भएको प्रतिक्रिया दिए।
प्रधानमन्त्री देशको अभिभावक भएकाले धैर्यता, इमानदारी र जिम्मेवारीका साथ शासन सञ्चालन गर्नुपर्ने उनले बताए।
‘नयाँ सरकारप्रति हाम्रो ठूलो अपेक्षा थियो। तर अहिले कतिपय काम जनताविरुद्ध हुन थालेको हो कि भन्ने देखिन थालेको छ। प्रधानमन्त्री देशको अभिभावक भएकाले धैर्यता, इमानदारी र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ, उनले भने, ‘जल, जमिन, जंगल, जडीबुटी, स्वास्थ्य, शिक्षा, सञ्चार, रोजगारी र ऊर्जा विकासमा सरकारले प्रभावकारी काम गर्न सके जनताले सधैँ साथ दिन्छन्। तर जनताको हितविपरीत काम भयो भने जनताले चुप लागेर सहँदैनन्। देश र जनताप्रति सबै जिम्मेवार निकाय उत्तरदायी र राष्ट्रप्रति वफादार हुनुपर्छ।’
अर्का सर्वसाधारण बद्रीप्रसाद हुमागाईले सरकारले छोटो अवधिमै सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा सकारात्मक कामको सुरुवात गरेको बताएका छन्।
अघिल्ला सरकारले गर्न नसकेका केही काम अहिलेको सरकारले अघि बढाएको उनले बताए। हुमागाईले विपक्षीको आलोचना स्वाभाविक भए पनि सरकारले थालेका सुशासनका प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको बताए।







