काठमाडौँ: पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापुत्र जयवीरसिंह देउवा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धानको ‘राडार’मा परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीरलाई अनुसन्धानका लागि बोलाएको छ।
विभागले जयवीरलाई हाजिर हुन एक साताको ‘अल्टिमेटम’ दिएको छ। एक साताभित्र हाजिर हुन नआए प्रचलित कानुन बमोजिम कारावाही हुने विभागले स्पष्ट पारेको छ।
देउवापुत्रको नाममा विभिन्न होटल, रिसोर्टलगायत हाउजिङ परियोजनामा अर्बौं रुपैयाँ लगानी रहेको चर्चा चल्दै आएको छ।
यसअघि विभागले पूर्वप्रधानमन्त्री देउवा, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा ल्याइसकेको छ।
विभागले देउवा दम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ। आरजुलाई विभागले अनुसन्धानका लागि उपस्थित हुन एक साताको समय दिएको थियो। पछि उनले तत्काल उपस्थित हुन नसक्ने जवाफ पठाएकी थिइन्।
देउवा प्रधानमन्त्री भएका बेला उनका पत्नी आरजुले सरुवा बढुवालगायतमा मोटो रकम असूल्दै आएको आरोप लाग्दै आएको छ। यस्तै विवादस्पद व्यवसायी दीपक भट्टमार्फत ठूलो रकम हात पारेको चर्चा हुँदै आएको छ।
देउवा दम्पत्ति र पुत्र हाल विदेशमा भागेका छन्। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आक्रमणमा देउवा दम्पत्ति परेका थिए।


