काठमाडौँ: संगीता पहाडी अर्यालको नेपाल टेलिकमको प्रबन्ध निर्देशकका रूपमा पदबहाली भएको छ। असार २५ गते विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएकी उनी सोमबारदेखि टेलिकममा फर्किएकी हुन्।
अदालतबाट सफाइ पाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनको निलम्बन फुकुवा भएको थियो।
२०८२ जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ ठेक्कामा भ्रष्टाचार भएको आरोपमा पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। नेपाल टेलिकम र चिनियाँ कम्पनी एसिया इन्फोबीच भएको सम्झौतामा ५ प्रतिशत छुट नलिई सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको भन्दै ३३ करोड ४८ लाख १९ हजार ७३० रुपैयाँ बिगो दाबी अख्तियारले गरेको थियो।
उक्त मुद्दामा विशेषले निलम्बित प्रबन्ध निर्देशक पहाडीसहित तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलगायत १८ जनै प्रतिवादीलाई सफाइ दिएको थियो।
उननीहरूमाथि अख्तियारको दाबी नपुग्ने अदालतले बताएको थियो। अदालतले सफाइ दिन सन् २०११ को मुख्य सम्झौता र सन् २०२३ जनवरी ८ मा गरिएको सम्झौताको प्रकृति फरक रहेको देखिएको तर्क दिएको छ। २०११ को सम्झौतामा ५ प्रतिशत छुटको व्यवस्था भए पनि नयाँ सम्झौता प्याकेज आधारमा गरिएको र यसमा थप सुविधाहरू समावेश भएको अदालतको ठहर छ।
प्रतिवादी अमुल प्रधानको संयोजकत्वमा गठित टोलीले गरेको वार्ताबाट एसिया इन्फोले ५ प्रतिशत छुटको सट्टा १३ वटा नयाँ हार्डवेयर मोड्युल तथा सफ्टवेयरहरू निःशुल्क उपलब्ध गराएको देखिएको, फाइभजी सेवा सञ्चालनका लागि आवश्यक डेटा माइग्रेसन र अन्य प्राविधिक कामहरू समेत सोही प्याकेजमा समावेश भएकोले संस्थालाई हानी भन्दा बढी लाभ भएकाले बदनियत नदेखिएको ठहर अदालतले गरेको छ।
सोमबार पदबहाली गर्दै पहाडीले कम्पनीका कर्मचारीहरूलाई विशेष सम्बोधन गर्दै संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न डराउन नपर्ने र विगमा कर्मचारीहरूमाथि लागेको आरोप गलत सावित भई सत्य स्थापित भएको बताइन्।


