काठमाडौँः नेपालमा हाइड्रोजनमा आधारित सवारीसाधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र सञ्चालनका लागि पूर्वाधार विकास मन्त्रालयले गृहकार्य अघि बढाएको छ।
यससम्बन्धी आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्ने उद्देश्यले मन्त्रालयले विज्ञ, विशेषज्ञ तथा सरोकारवालाबाट लिखित सुझाव माग गरेको हो।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार हाइड्रोजन प्रविधिको प्रयोगका लागि अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड, निर्देशिका तथा आवश्यक जनशक्ति विकाससम्बन्धी विषयमा सुझाव संकलन गर्न लागिएको हो।
यस प्रक्रियामा विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थालाई सहभागी हुन मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयले मुख्यतः छवटा क्षेत्रमा केन्द्रित रहेर सुझाव माग गरेको छ। जसमा हाइड्रोजन सवारीसाधनसम्बन्धी अन्तर्राष्ट्रिय अनुभव, नीतिगत व्यवस्था तथा हाइड्रोजन उत्पादनदेखि इन्धन भर्ने पूर्वाधारसम्मका सुरक्षा मापदण्ड रहेका छन्।
विशेषगरी हाल सञ्चालनमा रहेका आन्तरिक दहन इन्जिन (आईसीई) युक्त सवारीसाधनलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ने सम्भावना, त्यसको लागत तथा प्राविधिक पक्षका बारेमा समेत सुझाव मागिएको छ।
इच्छुक सरोकारवालाले आगामी २०८१ साल साउन २० गतेसम्म मन्त्रालयको आधिकारिक इमेलमार्फत आफ्ना सुझाव पेस गर्न सक्नेछन्। सुझाव पेस गर्दा सम्बन्धित संस्था वा निकायको संक्षिप्त परिचय, कार्यक्षेत्र तथा अनुभवसमेत अनिवार्य रूपमा खुलाउनुपर्ने सूचनामा उल्लेख छ।
मन्त्रालयका अनुसार प्राप्त सुझावको आवश्यक अध्ययन तथा विश्लेषण गरिनेछ। त्यसकै आधारमा नेपालमा हाइड्रोजनमा आधारित सवारीसाधनसम्बन्धी ठोस नीति, कानुनी व्यवस्था तथा कार्यविधि तर्जुमा गर्ने सरकारको योजना छ।
यस कदमले नेपालको यातायात क्षेत्रलाई वातावरणमैत्री तथा प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।


