काठमाडौँ: सोमबार बिहान ११ बजे काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ मार्गको उद्घाटन हुँदैछ।
करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको यो सुरुङ शिलान्यासको ७ वर्षपछि उद्घाटन गर्न लागिएको हो।
२०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए। प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो। कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो।
सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिकोले संयुक्त रूपमा गर्दैछन्।
उद्घाटनअघि त्यहाँका स्थानीयले भने विरोध प्रदर्शन गरेका छन्। आयोजनाको कारण उत्पन्न समस्या सम्बोधनको माग गर्दै स्थानीयबासीले प्रदर्शन गरेका हुन्। सोमबार बिहानैदेखि स्थानीयहरू सडकमा उत्रिएका हुन्।
स्थानीयहरूले आयोजनाबाट प्रभावितलाई रोजगारी सुनिश्चित गर्न, आकाशेपुल यथाशीघ्र निर्माण गर्न, सडक पेटी फराकिलो बनाउन, जेब्रा क्रसिङ तथा ट्राफिक लाइटको व्यवस्था गर्न र फ्लाइओभरको नाम ‘किसिपिँडी फ्लाइ ओभर’ राख्न माग गरेका छन्।








