काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ।
मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ महानिर्देशक नियुक्त गरेका हुन्। मन्त्रालयका अनुसार विद्युत् विकास विभागको महानिर्देशकमा सहसचिव सागरराज गौतम र सिँचाइ विभागको महानिर्देशकमा सहसचिव डा. महेश्वर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।
नवनियुक्त गौतम यसअघि मन्त्रालयको विकास सहायता महाशाखामा कार्यरत थिए भने डा. श्रेष्ठ बजेट तथा अनुगमन महाशाखाको नेतृत्व सम्हालिरहेका थिए। यता, विद्युत् विकास विभागकी निवर्तमान महानिर्देशक मनदेवी श्रेष्ठ र सिँचाइ विभागका महानिर्देशक मित्र बराललाई मन्त्रालयमा फिर्ता बोलाइएको छ।
मन्त्रालयले थप प्रशासनिक हेरफेरको तयारीसमेत गरेको छ। सोहीअनुसार उपमहानिर्देशक गोकर्णराज पन्थलाई विद्युत् नियमन आयोगको सचिवमा र अर्का उपमहानिर्देशक सुनिल पौडेललाई मन्त्रालयमा ल्याउने निर्णय भइसकेको छ।
यद्यपि, सम्बन्धित निर्णयको औपचारिक पत्र हस्तान्तरण हुन भने बाँकी रहेको मन्त्रालयले जनाएको छ।
